मधेस प्रदेशमा रासायनिक मलको अभाव नहुने, साढे ५२ हजार मेट्रिकटन वितरण

वीरगञ्ज । मेधश प्रदेशमा यसवर्ष रासायनिक मलको अभाव नहुने भएको छ ।  रासायनिक मल वितरण गर्दै आएका साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले कम्पनीसंग यथेष्ट मल मौज्दात रहेका जनाउँदै मलको अभाव नहुने दाबी गरेका हुन्  ।

रासायनिक मल कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत आयात गरेर अनुदानबापत कम मूल्यमा किसानलाई मल उपलब्ध गराउँदै आइरहेका छन् । पछिल्लो समय कृषि सामग्री र साल्ट ट्रेडिङले रासायनिक मलखादलाई खेतीयोग्य जमिनको क्षेत्रफल,विगत आवको मलको खपतको अभिलेख र बाली सघनताको आधारमा स्थानीय तहअनुसारको कोटाअनुसार रासायनिक मलको बाँडफाँट गर्दै आइरहेका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रादेशिक कार्यालय प्रमुख आमोज लामिछानेले विगतको  यस वर्ष रासायनिक मलको समस्या नहुने दाबी गरे । ‘गत आवमा भन्दा चालु आवमा ८ हजार ८४५.१५ मेट्रिक टन धेरै मल वितरण भइसकेको छ । त्यसैले पनि विगतको वर्षमा जस्तै यो वर्ष रासायनिक मलको समस्या नहुने अपेक्षा गरेका छौँ,’ उनले भने ।

कार्यालयले २०८१ असार २४ गतेसम्मको अवधिमा कार्यालयले मधेस प्रदेशमा युरिया, डीएपी र पोटास गरी कूल ५२ हजार ६५२.३५ मेट्रिक टन रासायनिक मल मधेस प्रदेशका ८ जिल्लामा वितरण गरिसकेको छ । यसमा युरिया मलको हिस्सा २७ हजार ६१४.२५ मेट्रिक टन, डीएपी मलको हिस्सा २३ हजार ६८७.७० मेट्रिक टन र पोटास मलको हिस्सा भने १३६१.४० मेट्रिक टन रहेको छ ।

गत आवमा प्रादेशिक कार्यालयले तिनै थरिका मल ४३ हजार ८७.२० मेट्रिक टन वितरण गरेका थियो । यसमा युरियामल ३१ हजार ५८३.५५ मेट्रिक टन, डीएपी मल १२ हजार २०१.३० मेट्रिक टन र पोटास मल २२.३५ मेट्रिक टन वितरण गरिएको थियो ।

कार्यालयले मधेस प्रदेशका १ हजार २७० वडामा एक हजार २९ डिलरमार्फत मल उपलब्ध गराउँदै आइरहेको छ । साल्ट ट्रेडिङले देशभरिका लागि खरिद गर्ने कूल मलमध्ये मधेस प्रदेशका लागि २६.५० प्रतिशत मल वितरण गर्ने गरिन्छ । त्यस्तै कोशी प्रदेशका लागि २१.५ प्रतिशत, लुम्बिनी प्रदेशका लागि २०.६ प्रतिशत, बागमती प्रदेशका लागि १४.८० प्रतिशत र सुदूरपश्चिम प्रदेशका लागि ९.७० प्रतिशतको कोटा निर्धारण गरेको छ ।

त्यस्तै कर्णाली प्रदेशको लागि २ प्रतिशत कोटा तोकिएको छ ।  यसैगरी कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका कायममूकायम (कामु) प्रमुख दुर्गाप्रसाद पाण्डेयले गत आर्थिक वर्षको तुलनामा चालु आवमा मलको आयातमा वृद्धि भएकाले पनि मधेस प्रदेशमा रासायनिक मलको समस्या नहुने दाबी गरेका छन् । ‘कार्यालयले गत आवको तुलनामा चालु आवमा ८ हजार ६४५ मेट्रिक टन रासायनिक मल धेरै प्राप्त गरेको छ,’ उनले भने, ‘अन्य वर्षमा जस्तो यो वर्ष मलको चर्को अभाव नहोला कि भन्ने लागिरहेको छ ।’

कार्यालयले चालु आवको असार ११ गतेसम्मको अवधिमा युरिया, डीएपी र पोटास गरी कूल ९५ हजार २०३.४० मेट्रिक टन रासायनिक मल प्राप्त गरिसकेको छ । जसमा युरिया मल ६० हजार ६८२.२५ मेट्रिक टन, डीएपी मल भने २८ हजार ९६३.४० मेट्रिक टन र पोटास मल भने ५ हजार ५५७.७५ मेट्रिक टन रहेको छ ।

कार्यालयले चालु आवमा प्राप्त भएको मलमध्ये हालसम्म ८४ हजार ४२७.५० मेट्रिक टन मल मधेस प्रदेशसहितका अन्य जिल्लामा पठाइसकेको छ । प्रादेशिक कार्यालय वीरगञ्जले मधेस प्रदेशका छ जिल्लामा पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषा, सर्लाही जिल्लामा मल उपलब्ध गराउने गर्छ । तर, तराईका सिरहा र सप्तरी जिल्लामा भने कोशी प्रदेश कार्यालय मातहतको कार्यालयबाट वितरण गर्ने गरिन्छ ।

सो कार्यालयले आव २०७९/८० मा युरिया, डीएपी र पोटास गरी ८६ हजार ५५८.७५ मेट्रिक टन रासायनिक मल प्राप्त गरेको थियो । यसमा युरिया मलको हिस्सा ५५ हजार २९७.६०० मेट्रिक टन, डीएपी मलको हिस्सा ३० हजार ७६१.१५ मेट्रिक टन र पोटास मलको हिस्सा ५०० मेट्रिन टन रहेको थियो । कार्यालयले गत आवमा प्राप्त भएकोमध्ये ७२ हजार ८२६ मेट्रिक टन मल आफ्नो मातहतका १७ जिल्लामा पठाएको थियो ।

सो कार्यालयले मधेस प्रदेशको अलावा बागमती प्रदेशका ७ जिल्लामा पनि रासायनिक मल उपलब्ध गराउँदै आइरहेको छ । जसमा सिन्धुली, काभेपञ्लाचोक, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, काठमाडौँलगायतका जिल्लामा पठाउने गर्छ । त्यस्तै गण्डकी प्रदेशका पर्वत, कास्की, तनहुँ र गोरखा जिल्लामा पठाउने गर्छ । कार्यालयमा अहिले थप प्राप्त भइरहेको युरिया ११ हजार ८०० मेट्रिक टन र डीएपी ९ हजार ५०० मेट्रिक टन रहेको छ ।

अनुदानको मलको कोटा बढाउनुपर्छ : किसान महासङ्घ

नेपाल किसान महासङ्घ पर्साका पूर्वअध्यक्ष असर्फी साह समग्रमा मधेस प्रदेशमा रासायनिक मलको अभाव भने कायमै रहेको गुनासो गरे । ‘सरकारी निकायले पर्याप्त मात्र उपलब्ध गराएको दाबी गरे पनि कृषकले भने अहिले पनि मल अभावको समस्या खेपिरहेका छन्,’ उनले भने, ‘सरकारी निकायले कोटा निर्धारण गरेर उपलब्ध गराउँदै आइरहेका छन् । तर, कृषकले भने पारदर्शी ढङ्गले मल भने प्राप्त गर्न सकिरहेका छैनन् ।’ उनले धान रोपाइँ गर्नका लागि किसानले मागका आधारमा मल पनि पाउन नसकेको दाबी गरे ।

पर्साको पटेवा सुगौली गाउँपालिकाका उपाध्यक्ष ममता महतो पनि सरकारले किसानको मागअनुसारको मल उपलब्ध गराउन माग गरिन् । ‘सरकारी अनुदानको मलले ५० प्रतिशत मात्रै थेग्ने गर्छ,’ उनले भनिन्, ‘अन्य मल किसान आफैँले जुगाड गर्नुपर्ने हुन्छ ।’

कामु प्रमुख पाण्डेयले मलको आयात कम र कृषकले धेरै मलखाद प्रयोग गर्ने भएकाले पनि मलको समस्या हुने गरेको बताए । ‘सरकारले प्रति कट्ठा तीन किलोग्राम मल प्रयोग गर्नुपर्ने मापदण्ड तोकेको छ । तर, कृषकले प्रति कट्ठा छ किलोग्रामभन्दा धेरै मल प्रयोग गर्नाले पनि अभाव हुने गरेको हो,’ उनले भने । रासस

मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध Read Previous

मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

सेयर किन्न ठूलो रकम ऋण लिने २०.४ प्रतिशत बढे Read Next

सेयर किन्न ठूलो रकम ऋण लिने २०.४ प्रतिशत बढे