देशभर एकतिहाई बढी रोपाइँ सम्पन्न, सुदूरपश्चिममा सबैभन्दा धेरै 

काठमाडौं । देशभर एकतिहाई बढी रोपाइँ सम्पन्न भएको छ । कृषि विभागका अनुसार असार २३ गतेसम्म देशभर ३८.६ प्रतिशत रोपाइँ सम्पन्न भएको हो । आइतबारसम्म सातै प्रदेशमा कुल ५ लाख ३९ हजार ७६६ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो ।
सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५४.२ प्रतिशत रोपाइँ भएको कृषि विभागका सूचना अधिकारी तिकलराज चौलागाईंले जानकारी दिए । सबैभन्दा कम मधेस प्रदेशमा २५.५ प्रतिशत रापाइँ भएको छ ।
आइतबारसम्म कोशी प्रदेशमा ३४.४ प्रतिशत, बागमतीमा ४०.२ प्रतिशत, गण्डकीमा ४९.७ प्रतिशत, लुम्बिनीमा ४४.४ प्रतिशत र कर्णाली प्रदेशमा ४७.५ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
गत वर्षको तुलनामा यस वर्ष कम रोपाइँ भएको हो । अघिल्लो वर्ष असार २४ गतेसम्म देशभर ६ लाख ४२ हजार २८४ हेक्टर क्षेत्रफल (४२.९ प्रतिशत) मा रोपाइँ सम्पन्न भएको थियो ।
देशभर रोपाइँ हुने क्षेत्रफल कुल १३ लाख ९८ हजार २७३ हेक्टर रहेको छ । सबैभन्दा धेरै मधेसमा ३ लाख ८३ हजार १५० हेक्टर क्षेत्रफल रहेको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार ९०४ क्षेत्रफल रहेको छ ।
नेपालमा वार्षिक औसत ५७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । माग ६२ लाख मेट्रिक टन रहेको छ । नेपालमा गत वर्ष अपेक्षाअनुसारको मात्रामा धान उत्पादन भएको र यस वर्ष पनि सोही अनुपातमा उत्पादन हुने सूचना अधिकारी चौलागाईले बताए।
 यस वर्षको मनसुन गत जेठ ३१ गतेदेखि नेपाल प्रवेश गरेको हो । यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा सामान्यतया मनसुन अवधि सरदर जेठ १९ देखि असोज १४ गतेसम्म मानिन्छ । यद्यपि मनसुन भित्रिने र बाहिरिने अवधि केही दिन तलमाथि हुने गरेको छ
नेप्सेमा झिनो करेक्सन, १४१ कम्पनीको मूल्य घट्यो Read Previous

नेप्सेमा झिनो करेक्सन, १४१ कम्पनीको मूल्य घट्यो

पर्यटकी राजधानीको सडकमा खाल्डैखाल्डा, यात्रा जोखिमपूर्ण Read Next

पर्यटकी राजधानीको सडकमा खाल्डैखाल्डा, यात्रा जोखिमपूर्ण