काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । गत सोमबारदेखि लगातार उकालो लागेको नेप्सेमा १०४ अंकको वृद्धिपछि आज ४ अंकको करेक्शन आएको हो ।
सोमबार नेप्से परिसूचक ४.६२ अंकले घटेर २१३६.३५ बिन्दुमा आइपुगेको छ । सूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ३८ करोड रुपैयाँ घटेर ४ अर्ब ५६ करोड रुपैयाँमा सीमित भएको छ ।
आज ३२४ कम्पनीको १ करोड ४ लाख ७५ हजार १८१ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा समूहमध्ये १० समूहको परिसूचक घटेकोे छ भने ३ को बढेको छ । होटल समूहको परिसूचक सर्वाधिक ०.९५ प्रतिशतले घटेको छ भने माइक्रोफाइनान्स ०.९२ प्रतिशतले बढेको छ ।
आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ । यसको २८ करोड ७० लाख रुपैयाँ बढीको ३ लाख ९० हजार २०५ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका मध्ये ९५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४१ कम्पनीको घटेको छ ।
घट्दो बजारमा आज समाज लघुवित्तका सेयरधनीले सर्वाधिक ९.६८ प्रतिशत कमाएका छन् । त्यसैगरी, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युत्को सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज माथिल्लो मैलुङ खोला जलविद्युत्का सेयरधनीले भने सर्वाधिक ८.३९ प्रतिशत गुमाएका छन् ।