असारे विकाससँगै बैंकमा ओइरियो पैसा, १९ दिनमै थपियो १२८ अर्ब निक्षेप

काठमाडौं । असार लागेसँगै बैंकिङ प्रणलीमा दैनिक अर्बौं रुपैयाँ निक्षेप आउन थालेको छ । सरकारले असारे विकासको नाममा पूँजीगत खर्च बढाउँदा बैंकिङ प्रणालीमा ह्वारह्वारती पैसा आएको हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार असारको १९ दिनमै १ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । गत जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६२ खर्ब ४२ अर्ब रुपैयाँ रहेकोमा असार १९ गते आइपुग्दा बढेर ६३ खर्ब ७० अर्ब रुपैयाँ पुगेको हो ।

असार लागेपछि दैनिक औसतमा पौने ७ अर्ब रुपैयाँ निक्षेप थपिरहेको छ । असार मसान्त नजिकिएसँगै अब निक्षेप थपिने क्रम झनै तीव्र हुने गर्छ ।

बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को आकारभन्दा पनि ठूलो भएको छ । बैंकमा रहेको कुल निक्षेप जीडीपीको ११८.३७ प्रतिशत हो । पछिल्लो तथ्यांक अनुसार मुलुकको जीडीपी ५३ खर्ब ८१ अर्ब रूपैयाँ रहेको छ।

चालु आवको सुरुदेखि नै बैंकिङ प्रणालीमा एकोहोरो निक्षेप थुप्रिरहेको छ । रेमिटेन्समा आप्रवाहमा उल्लेख्य वृद्धि, आयात घट्नु, सरकारले पूँजीगत खर्च बढाउनु लगायत कारणले निक्षेप बढेको हो । चालु आवमा मात्रै बैंकिङ प्रणालीमा ६ खर्ब रुपैयाँ निक्षेप थपिएको छ ।

एकोहोरो निक्षेप थपिरहे पनि कर्जा लगानी भने सुस्त रहेको छ । असारको १९ दिनमा १.२८ खर्ब निक्षेप संकलन हुँदा बैंक तथा वित्तीय संस्थाहरूले १६ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् । असार १९ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५१ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको छ ।

निक्षेप एकोहोरो बढे पनि अर्थतन्त्रमा आएको संकुचन र व्यवसायीको मनोवल खस्किँदा कर्जाको माग बढ्न नसकेको हो । चालु आवमा ६ खर्ब निक्षेप थपिँदा २ खर्ब ७५ अर्ब रुपैयाँ मात्र कर्जा लगानी भएको छ ।

कर्जा असुलीमा समस्या हुँदा बैंकहरूको खराब कर्जा ह्वात्तै बढेको छ । अहिले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा औसतमा ३.९६ प्रतिशत पुगेको छ । यसकारण बैंक तथा वित्तीय संस्थाहरू कर्जा विस्तारभन्दा पनि असुलीमा केन्द्रित हुन थालेका छन् ।

राष्ट्र बैंकले चालु आवमा निजीक्षेत्र तर्फ साढे ११ प्रतिशत अर्थात् ५ खर्ब ६० अर्ब बढी कर्जा विस्तारको लक्ष्य राखेको छ । तर, हालसम्मको अवस्था हेर्दा लक्ष्यको आधा मात्रै कर्जाै लगानी हुने देखिन्छ ।

निक्षेपको तुलनामा कर्जा लगानी बढ्न नसक्दा बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमाभन्दा निकै तल आएको छ । हाल समग्रमा सीडी रेसियो ७८.८० प्रतिशत रहेको छ । राष्ट्र बैंकले सीडी रेसियोको सीमा ९० प्रतिशत तोकेको छ । यस आधारमा अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग साढे ६ खर्ब बढी लगानी योग्य रकम (तरलता) रहेको छ ।

साउनमा दुई कम्पनीको 'लकइन पिरियड' सकिँदै, कुनको कति कित्ता ? Read Previous

साउनमा दुई कम्पनीको 'लकइन पिरियड' सकिँदै, कुनको कति कित्ता ?

एक सातादेखि कर्णालीका ५ जिल्लामा हवाई र सडक यातायात सेवा बन्द Read Next

एक सातादेखि कर्णालीका ५ जिल्लामा हवाई र सडक यातायात सेवा बन्द