काठमाडौं । साउनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई कम्पनीको ‘लकइन पिरियड’ सकिने भएको छ । साउनमा माथिल्लो मैलुङ खोला जलविद्युत् र तेह्रथुम पावरको सेयरको लकइन अवधि सकिने भएको हो ।
यी कम्पनीहरूले संस्थापक, आयोजना प्रभावित क्षेत्रका स्थानीय र कर्मचारीका लागि जारी गरेको सेयरको लकइन अवधि सकिने भएको हो ।
नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीको सेयरको लकइन सकिनु १ महिना अगावै सूचना जारी गरी जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ । सोही अनुसार कम्पनीहरूले आफ्नो सेयरको लकइन पिरियड सकिने दिन सार्वजनिक गरेका छन् ।
माथिल्लो मैलुङ खोलाको सेयरको लकइन साउन २६ गते सकिने भएको छ । कम्पनीको संस्थापकको २५ लाख ७७ हजार कित्ता, स्थानीयको ३ लाख ६८ हजार र कर्मचारीको १४ हजार ७२६ कित्ता सेयरको लकिङ पिरियड सकिने भएको हो ।
त्यस्तै, तेह्रथुम पावरको साउन २७ गते लकइन पिरियड सकिने भएको छ । कम्पनीले संस्थापकलाई जारी गरेको २८ लाख कित्ता, स्थानीयको ४ लाख र कर्मचारीको १६ कित्ताको लकिङ सकिने भएको हो ।
दुवै कम्पनीको सेयर लकइन पिरियड सकिएको भोलिपल्टदेखि दोस्रो बजारमा खरिदबिक्री गर्न पाइने छ ।