महँगोमा उठाएको पैसा ३% ब्याजमा राख्दै बैंकहरू, फागुन यता राखे साढे २२ खर्ब

काठमाडौं । बैंकमा पैसा थुप्रिएपछि बैंक तथा वित्तीय संस्थाहरू महँगो ब्याजमा उठाएको पैसा सस्तोमा राष्ट्र बैंकमा राख्न बाध्य भएका छन् । कर्जाको माग बढ्न नसक्दा लगानी नभएपछि बैंकहरू आफूसँग भएको अधिक तरलता राष्ट्र बैंकमा सस्तो ब्याजमै राख्न थालेका हुन् ।

अर्थतन्त्रमा आएको संकुचनका कारण बजारमा उपभोग्य वस्तुमा माग बढ्न सकेको छैन भने उद्योग, कलकारखाना न्यून क्षमतामा मात्रै संचालनमा छन् । बैंकबाट ऋण लिएर लगानी गर्ने व्यवसायीहरूको आत्मवल छैन । जसकारण कर्जाको माग बढ्न सकेको छैन । एकोहोरो निक्षेप बढिरहने तर कर्जाको माग नभएपछि बैंकहरूले थोरै भए पनि ब्याज पाउन राष्ट्र बैंकमा पैसा राख्न थालेका हुन् ।

राष्ट्र बैंकले गत फागुनदेखि स्थायी निक्षेप सुविधा (एसडीएफ) कार्यान्वयनमा ल्याएको छ । सोही सुविधाको उपयोग गर्दै बैंकहरूले अहिले लगानी नभएको पैसा राष्ट्र बैंकमा राखिरहेका हुन् । बैंकहरूले ७ प्रतिशत बढीमा उठाएको निक्षेप ३ प्रतिशत ब्याजदमा राष्ट्र बैंकमा राख्न बाध्य भएका छन् ।

अहिले बैंकिङ प्रणालीमा साढे ६ खर्ब बढी रुपैयाँ तरलता छ । असार मसान्त नजिकिएसँगै सरकराले खर्ब बढाउँदा दैनिक अर्बौं रुपैयाँ निक्षेप थपिरहेको छ । तर, कर्जाको माग नभएपछि बैंकहरूले थोरै ब्याजमै भए पनि राष्ट्र बैंकमा राख्ने क्रम बढेको हो ।

एकोहोरो निक्षेप बढिरहने तर, सोही अनुपातमा कर्जाको माग नहुँदा बैंकहरूलाई तरलता व्यवस्थापन गर्न कठिन हुन थालेको हो । राष्ट्र बैंकले पनि प्रणालीबाटहप्तैपिच्छे अर्बौं रूपैयाँ तरलता खिच्दै समेत आएको छ ।

कर्जाको माग बढाउन सरकार र नेपाल राष्ट्र बैंकले पनि नीतगत सहजता र लचकता अपनाउँदै आएका छन् । कर्जाको ब्याजदर पनि लगातार घट्दो क्रममै छ । तर, अपेक्षित रुपमा कर्जाको माग बढ्न सकेको छैन ।

विगतमा लगानी गरिएको कर्जा असुल्न नसक्दा बैंकहरूके खराब कर्जा औसतमै ३.९८ प्रतिशत पुगेको छ । अहिले केही क्षेत्रमा कर्जाको माग भए पनि जोखिम मोलेर लगानी गर्न बैंकहरू तयार छैनन् । जोखिम मोलेर जुनसुकै क्षेत्रमा लगानी गर्नुभन्दा बरु कर्जा लगानी नै नगर्नु बुद्धिमानी हुने बैंकरहरूको तर्क छ । यस्तोमा थोरै भए पनि ब्याज आउने भएकाले थुप्रिएको पैसा राष्ट्र बैंकमा राख्न थालिएको उनीहरू बताउँछन् ।

साढे ४ महिनामा राखे साढे २२ खर्ब

राष्ट्र बैंकको तथ्यांक अनुसार फागुन यता बैंक तथा वित्तीय संस्थाले पटक पटक गरेर कुल २२ खर्ब ५८ अर्ब ५० करोड रुपैयाँ स्थायी निक्षेपमा राखेका छन् । बैंकहरूले ४३ दिनमा ६४२ पटकमा उक्त रकम राष्ट्र बैंकमा राखेका हुन् । यद्यपि, स्थायी निक्षेपमा राखेको मध्ये २० खर्ब ५१ अर्ब रुपैयाँ फिर्ता लगिसकेका छन् ।

स्थायी निक्षेप सुविधा अधिक तरलता व्यवस्थापन गर्ने वैकल्पिक औजार हो । ब्याजदर करिडोर पूर्ण रुपमा कार्यन्वयन गर्न राष्ट्र बैंकले फागुन २ गतेदेखि प्रयोगमा ल्याएको थियो । यो सुविधा अन्तरबैंक सापटीको दायित्व बाँकी नरहेको, पछिल्लो ३० दिनको दैनिक सीडी रेसियो तोकिएको सीमाभित्र रहेको, दैनिक खुद तरल सम्पत्ति तोकिएको सीमाभन्दा बढी रहेको र सबै प्रकृतिका स्वदेशी मुद्राको बचत निक्षेपमा प्रदान गर्न प्रकाशित न्यूनतम ब्याजदर यो सुविधाको ब्याजदरभन्दा कम नभएको बैंक तथा वित्तीय संस्थाले मात्रै उपयोग गर्न पाउँछन् ।

स्थायी निक्षेप सुविधा अन्तर्गत बैंक तथा वित्तीय संस्थाले न्यूनतम २० करोड र सोभन्दा बढीको हकमा पाँच करोडले भाग गर्दा निःशेष रहने गरी रकम जम्मा गर्न पाउँछन् । यो सुविधा सुरुमा साताको दुई पटक उपलब्ध गराएको राष्ट्र बैंकले हाल ३ पटक उपलब्ध गराउन थालेका छ । स्थायी निक्षेप सुविधामा जम्मा रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइँदैन । तर, केन्द्रीय बैंकले तोकेको वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न पाउने उल्लेख छ ।

उठाएको निक्षेपका आधा पनि भएन ऋण लगानी

चालु आर्थिक वर्षको बैंक तथा वित्तीय संस्थाहरूले संकलन गरेको निक्षेपको आधा रकम पनि कर्जा लगानी गर्न सकेका छैनन् । राष्ट्र बैंकमा अनुसार चालु वर्षको जेठसम्म बैंक तथा वित्तीय संस्थाले कुल ५ खर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

जबकि यही अवधिमा करिक २ खर्ब ४५ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी गर्न सकेका छन् । यो कुल निक्षेपको तुलनामा आधाभन्दा कम हो ।

नेपाल राष्ट्र बैंकले चालु वर्षमा निजीक्षेत्र तर्फ साढे ११ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको छ । तर, ११ महिनाको अवधिमा लक्ष्यको करिब आधा मात्रै ऋण लगानी गरेका छन् । यसले कर्जा विस्तारको लक्ष्य भेटिन असम्भव छ । असार मसान्त नजिएकाले बैंकहरू कर्जा लगानीभन्दा असुलीमा केन्द्रित भएका छन् ।

कर्णालीमा हवाई तथा सडक सम्पर्क बिच्छेद Read Previous

कर्णालीमा हवाई तथा सडक सम्पर्क बिच्छेद

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ४५ हजार नाघ्यो Read Next

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ४५ हजार नाघ्यो