काभ्रेको दुर्गम क्षेत्रमा उत्पादित कफी जापान निर्यात

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले व्यावसायिक कफी उत्पादनलाई आधुनिकीकरण गर्न थालेको छ । कफी उत्पादनलाई आधुनिक बनाउने उद्देश्यले पालिकाले व्यावसायिक कफी किसानलाई आधुनिक कृषि सामग्री वितरण गरेको हो ।

आधुनिक कृषि प्रविधिसँग जोड्दै थप सहज र उत्पादन वृद्धि गरी कफीखेतीबाट आत्मनिर्भर बनाउने उद्देश्यले व्यावसायिक किसानलाई सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । यो साता कफी किसानलाई ८० पल्पर मेसिन, १०० कफीराख्ने जाली, १०० किसानलाई ५०० मिटर पार्चमेन्ट जाली, बिन्स बनाउने मेसिन, महिचर मेसिन, डिजिटल तराजु र ह्याण्ड ग्रेडरसहितका सामग्री वितरण गरिएको छ ।

बाँकी किसानलाई आवश्यकताका आधारमा सामग्री वितरण गर्दै जाने अध्यक्ष जिम्बाले बताए । ‘आधुनिक सामग्रीले कफी उत्पादनमा सहजता हुने अपेक्षा गरेका छौँ,’ उनले भने । केही वर्षदेखि स्थानीयको आयआर्जनको माध्यम कफीखेती बन्न थालेपछि पालिकाले बर्सेनि अनुदानमा कफीका बिरुवा वितरण गर्दै आएको छ । गाउँपालिकाका अनुसार १ हजार ४३३ रोपनी जमिनमा कफीखेती भइरहेको छ ।

आर्थिक वर्ष २०७९/८० मा स्थानीय किसानलाई १ लाख कफीका बिरुवा निःशुल्क वितरण गरेको पालिकाले चालु आवमा ९० हजार बिरुवा वितरण गरेको छ । महाभारत–३, ५ र ८ मा नर्सरी स्थापना गरिएको छ । गाउँपालिकामा हाल व्यावसायिक कफी उत्पादन गर्ने किसान १ हजार २०० को हाराहारिमा रहेका अध्यक्ष जिम्बाले जानकारी दिए ।

कफी उत्पादनलाई पकेट क्षेत्रका रुपमा विकसित गर्दै हरेका वर्षको नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकतामा राखिएको जिम्बाले बताए । यहाँका किसान परम्परागत मकै, कोदो तथा अन्य खाद्यान बाली छाडेर कफीखेतीमा आकर्षित हुँदै गएका उनको भनाइ छ ।

पालिकाबाट बर्सेनि रु ५ देखि १२ लाखसम्मको कफी बिक्री हुने गरेको वडा नं ५ का सुवास जिम्बाले बताए । यहाँ कफी उत्पादन राम्रो हुनुका साथै बजारीकरणको समस्या हट्दै गएकाले किसान यसतर्फ आकर्षित हुँदै गएका उनको भनाइ छ ।

जापान निर्यात हुँदै

यसैबीच महाभारतका किसानले उत्पादन गरेको कफी जापान निर्यात हुँदै आएको छ । ‘हिमालयन लक्जरी विन्स’ नामक कम्पनीले तीन वर्षदेखि यहाँ उत्पादित कफी जापान निर्यात गर्दै आएको हो ।

बागमती प्रदेश सरकारले ‘एक वडा, एक उत्पादन’ कार्यक्रमअन्तर्गत आगामी आवका लागि महाभारत–५ र खानीखोला गाउँपालिका–२ लाई कफी उत्पादनका लागि छनोट गरेको छ ।

विन्सका सञ्चालक गुणबहादुर लामाले महाभारत क्षेत्रमा उत्पादित कफी स्वादिलो र गुणस्तरीय भएकाले जापानबाट माग हुने गरेको भन्दै निर्यातलाई निरन्तरता दिँदै आएको बताए । ‘हाल १ हजार पाँच सय केजी जापान पठाउने गरेका छौँ । माग अनुसार थप निर्यात बढाउने तयारीमा छौँ,’ उनले भने ।

यहाँ उत्पादित कफीलाई सुरुमा स्थानीयस्तरमा प्रशोधन गर्ने र बनेपास्थित विन्समा ल्याई पूर्णरूपमा प्रशोधन गर्ने गरिएको सञ्चालक लामाले जानकारी दिए । डाँडापारिमा पल्पिङ सेन्टर स्थापनापछि किसानले बोक्रा फालेर प्रशोधनअघि बिक्री गर्दा प्रतिकेजी रु ५०० देखि रु ६०० सम्म पाउने गरेका छन् ।

एक पटक रोपेको बिरुवाबाट पचास वर्षसम्म आम्दानी लिन सकिन्छ । एक रोपनीमा वार्षिक रु २५ देखि ३० हजारसम्म कमाइ हुने गरेको गाउँपालिकाका अध्यक्ष जिम्बाले बताए । महाभारतको आर्थिक समृद्धिको आधार कफीमार्फत गराउने योजना रहेको उनले जानकारी दिए ।रासस

अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने Read Previous

अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने

सिन्धुपाल्चोकमा निर्माणाधीन हाइड्रोको ढलान भत्कियो, दुई बेपत्ता Read Next

सिन्धुपाल्चोकमा निर्माणाधीन हाइड्रोको ढलान भत्कियो, दुई बेपत्ता