काठमाडौं । सहकारी संस्थाका ऋणीले ५० प्रतिशत ब्याज तिरेर कर्जा पुनर्तालिकीकरण गर्न पाउने भएका छन् ।
सहकारी विभागले बुधबार एक निर्देशन जारी गर्दै गत वर्ष खराब ऋणीको सूचीमा नपरेका सहकारीका ऋणीले पाकेको ब्याजको ५० प्रतिशत भुक्तानी गरी ३ महिनाका लागि कर्जा पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था गरेको हो ।
परिस्थितजन्य कारणले समस्यामा परी नियमित ऋण तिर्न नसक्ने ऋणीको अवस्थालाई मध्येनजर गर्दै सदस्यको आवश्यकता र औचित्यका आधारमा कर्जा पुनर्तालिकीकरण सुविधा दिइएको विभागले जनाएको छ ।
‘परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीलाई कर्जा चुक्ता गर्न परेको कठिनाइलाई दृष्टिगत गरी ऋणी सदस्यलाई परेको प्रभाव मूल्यांकन गरी सदस्यको माग, आवश्यकता र औचित्यता समेतको आधारमा कर्जा पुनर्तालिकीकरण गर्न सकिनेछ,’ विभागले निर्देशनमा भनेको छ, ‘यसरी पुनर्तालिकीकरण गर्दा गत वर्ष खराब ऋणीको सूचीमा नपरेका र यसअघी यस्तो सुविधा नलिएका ऋणीको हकमा मात्र कर्जामा पाकेको ५० प्रतिशत ब्याज भुक्तानी गरेमा बाँकी सावाँलाई ३ महिनाको अवधिका लागि पुनर्तालिकीकरण गर्न सकिनेछ ।’
विभागका अनुसार यसरी कर्जा पुनर्तालिकीकरण गर्दा यसअघि यस्तो सुविधा नलिएका ऋणीले मात्रै पाउने छन् । कर्जा पुनर्तालिकीकरण गरेबापत सहकारीहरूले ऋणी सदस्यबाट कुनै प्रकारको शुल्क/हर्जना लिन नपाउने विभागले जनाएको छ ।
सहकारीले ऋणीको कर्जा पुनर्तालिकीकरण गर्दा गर्नुपर्ने स्पष्ट आधारहरू प्रत्येक कर्जा फाइलमा संलग्न गर्नुपर्ने विभागले निर्देशनमा भनेको छ ।
विभागका अनुसार कर्जा पुनर्तालिकीकरणपछि नोक्सानी व्यवस्थाबाट ‘राइटब्याक’ हुने अवस्था आएमा सो बराबरको रकम सञ्चित मुनाफा खाता खर्च गरी छुट्टै खातामा लेखांकन गर्नुपर्नेछ । यसरी लेखांकन गरिएको रकमबाट लाभांश तथा कर्मचारी बोनस वितरण गर्न नपाइने विभागले उल्लेख गरेको छ ।
पुनर्तालिकीकरण गरिएका कर्जाको किस्ता लगातार ६ महिनासम्म नियमित भएपछि त्यस्ता कर्जाको कर्जा नोक्सानी व्यवस्थाबाट ‘राइटब्याक’ गरिएको रकम मात्र छुट्याइ सञ्चित मुनाफा खातामा लेखांकन गर्न पाइने छ ।
यस्तै, सहकारीहरूले आर्थिक वर्ष २०८०/८१ को ब्याज २०८१ साउने १५ गतेभित्र असुली गरेमा यसै आवको आयको रुपमा गणना गर्न पाउने भएका छन् ।
विभागले आफ्ना सदस्यहरूसँग नियमित समन्वय र सम्पर्क गर्दै वित्तीय साक्षरता अभिवृद्धि र सदस्य केन्द्रित सेवा प्रवाह मार्फत सदस्यहरूको विश्वास आर्जनामा केन्द्रित हुन निर्देशन दिएको हो ।
त्यस्तै, विभागले ऋण तथा बाँकी बक्यौता असुलीलाई थप प्रभावकारी बनाई आफ्ना सदस्यहरूको बचत रकम समयमा फिर्ता गर्न समेत विभागले निर्देशन दिएको छ ।
तोकिएका निर्देशन उल्लंघन गर्नेलाई सहकारीलाई कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।