काठमाडौं । चालु आर्थिक वर्षमा ३८३ वटा नयाँ उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्यांक अनुसार साउनदेखि जेठ मसान्तसम्म ३८३ वटा नयाँ उद्योग दर्ता भएका हुन् ।
विभागका अनुसार जेठसम्म ४९ वटा ठूला उद्योग, ५० वटा मझौला उद्योग र २८४ वटा साना उद्योग दर्ता भएका छन् । दर्ता भएका नयाँ उद्योगहरु स्वदेशी र विदेशी दुवै लगानी रहेको विभागले जनाएको छ । विभागका अनुसार जेठमा मात्रै ३७ अर्ब २० करोड रुपैयाँ बराबर लगानीका ५९ वटा उद्योग दर्ता भएका छन् ।
३८३ उद्योगमा कुल २ खर्ब १७ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । ती उद्योगहरु संचालनमा आएपछि कुल कुल २६ हजार २७ जनाले रोजगारी पाउने विभागले जनाएको छ । वैदेशिक लगानीमा दर्ता भएका उद्योगले मात्रै १७ हजार ६४२ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् ।
चालु आवमा प्रत्यक्ष वैदेशिक लगानी तर्फ कुल ३५५ लगानीको प्रस्ताव स्वीकृत भएको छ । यस अवधिमा ४४ अर्ब ३४ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । जुन लक्ष्यभन्दा धेरै हो । यस वर्ष कुल ३८ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी भित्र्ने सरकारको अनुमान थियो ।
चालु आवमा २ वटा प्याटेन्ट, ११ वटा डिजाइन, ५ हजार ४९४ वटा ट्रेडमार्क दर्ता भएको विभागले जनाएको छ । यस अवधिमा प्रारम्भिक वातावरणीय परीक्षण संख्या ४५ रहेको छ ।