बैंकिङ प्रणालीबाट एकैदिन ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम) थुप्रिएपछि नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज निक्षेप संकलन बोलकबोलबाट ५० अर्ब रुपैयाँ तान्ने भएको हो ।

राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम व्यवस्थापन गर्न लागेको हो । उक्त रकमको साँवा र ब्याज भुक्तानी साउन ९ गते गरिने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने छन् । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा १० करोड र बढीमा ५ करोडले भाग जाने गरी जति रकम पनि बोलकबोल गर्न सक्नेछन् ।

एकोहोरो निक्षेप थपिरहेको तर कर्जाको माग बढ्न नसक्दा बैंकिङ प्रणालीमा इतिहासकै धेरै अधिक तरलता कायम भएको छ । हाल प्रणालीमा ६ खर्ब रुपैयाँ बढी तरलता थुप्रिएको छ । यससँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९ प्रतिशतमा झरेको छ ।

चालु आवको कात्तिक यता ब्याजदर लगातार घट्दो क्रममा छ । तर, अर्थतन्त्रमा आएको मन्दी र व्यवसायीको मनोबल बढ्न नसक्दा कर्जाको माग बढ्न सकेको छैन । जसकारण पैसा बैंकिङ प्रणालीमै थुप्रिरहेकोे छ ।

काठमाडौंको नयाँबजारमा सडक भासियो, सवारी आवागमन प्रभावित Read Previous

काठमाडौंको नयाँबजारमा सडक भासियो, सवारी आवागमन प्रभावित

रोहिणी खोला किनारमा आयल निगमको नयाँ भण्डारणगृह निर्माण तीव्र गतिमा Read Next

रोहिणी खोला किनारमा आयल निगमको नयाँ भण्डारणगृह निर्माण तीव्र गतिमा