नारायणगढ-बुटवल सडक : दोस्रो पटक थपेको म्याद सकिँदै, आधा मात्रै काम पूरा

"सडक हिलाम्ये, कष्टकर यात्रा गर्न बाध्य"

काठमाडौं ।नारायणगढ–बुटवल सडक विस्तार योजनाको दोस्रो पटक थपिएको म्याद सकिनै लाग्दा समेत आधा मात्र काम पूरा भएको छ । विस्तार थालिएको ६ वर्ष बितिसक्दा समेत आयोजनाको पूवीखण्ड (गैँडाकोट-दाउन्ने)को ५२ प्रतिशत मात्रै काम पूरा भएको हो ।

ठेकेदारको ढिलासुस्ती, कामदार अभाव, निर्माण सामग्री अभाव, रुख कटानमा ढिलाई लगायत कारणले आयोजनाको काम समयमै सम्पन्न हुन नसकेको हो ।

५ वर्षभित्र सम्पन्न गर्नेगरी वि.सं. २०७५ माघमा सम्झौता भएर विस्तारको काम थालिएको थियो । ठेक्का सम्झौता अनुसार तोकिएको समयमै काम नसकिएपछि दुईपटक म्याद थप भइसकेको छ । दोस्रो पटक थपेको म्याद आगामी साउन ८ गते सकिँदै छ । तर, यस अवधिमा नवलपरासी पूर्वी खण्डको ५२ प्रतिशत मात्रै काम सम्पन्न भएको योजनाका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले जानकारी दिए।

योजनाको पूर्वी खण्डमा गैँडाकोटको नारायणी पुलदेखि दाउन्नेसम्म ६५ किलोमिटर पर्दछ । चार ‘लेन’मा विस्तार गर्ने सडक दुईतर्फी गरेर १ ३० किलोमिटर कालोपत्र गर्नुपर्नेमा हाल दुईतर्फी गरेर ४४ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको सूचना अधिकारी खनालले बताए। उनले भने, ‘यस खण्डमा यात्रा गर्दा अहिले एकतर्फी २७ किलोमिटर कालोपत्र सडकबाट यात्रा गर्न सकिन्छ ।’

कालोपत्र गर्नका लागि ६.६ किलोमिटर सडकमा बेस तयारी अवस्थामा रहेको छ । निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले अहिलेको म्याद रहेको अवधिमा नयाँ थप काम नगरेपनि कालोपत्रको लागि तयारी रहेको खण्डमा कालोपत्र गर्ने योजना बनाएको सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरले बताए । बेस तयार भएको काम सके यात्रुलाई ६÷७ किलोमिटर थप यात्रामा सहज हुने उनले बताए ।

हालको भौतिक प्रगति चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले प्रतिबद्धता गरेकोभन्दा कम भएको उनको भनाइ छ । ‘म्याद थप पछि जति गर्छु भनेको थियो, त्यति भएन, सोअनुसार स्रोत परिचालित पनि भएन, उसको आन्तरिक कारणले पनि होला, अहिले त मौसमले पनि कामलाई घटाएको छ,’ योजना प्रमुख मगरले भने ।

सूचना अधिकारी खनालका यस खण्डमा पर्ने ठूला १२ वटा पुलमध्ये नौवटामा ‘स्ल्याब’ राख्नेसम्मको काम भएको छ । तीन वटाको समेत काम सुरु गरिएको छ । साना २२ वटा पुल निर्माण गर्नुपर्नेमा सबैको काम सम्पन्न भएको उनले बताए ।

फेरि म्याद थप्ने/नथप्ने छलफल हुँदै

म्याद सकिने अवस्थामा रहेकाले अब यो योजना कसरी सम्पन्न गर्न सकिन्छ, कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल चलिरहेको योजना उनले बताए ।

‘नयाँमा अघि बढ्दा पनि समय लाग्ने हुन्छ, ५२ प्रतिशत सकिएको अवस्था छ, हालकै निर्माण कम्पनीबाट काम गरिसक्नुनै राम्रो हुनसक्छ,’ उनले भने, ‘छलफल अघि बढ्दै छ, मुख्य कुरा अब यसको थप प्रगति कसरी छिटो हासिल गर्न सकिन्छ भन्ने नै हो ।’

नारायणगढ-बुटवल खण्डको ११३ किलोमिटर सडक अन्तरगत पूर्वी खण्डमा ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित ६, दाउन्ने खण्डमा ३ र अन्य क्षेत्रमा ४ लेनको सडक निर्माण गर्ने गरी काम अघि बढिरहेको छ । करिब रु १७ अर्ब लागतमा निर्माणको काम जारी रहेको यो योजना लामो समयसम्म निर्माण सम्पन्न नहुँदा यात्रा गर्ने यात्रु र चालकले सास्ती खेप्दै आएका छन् ।

सडक हिलाम्ये, कष्टकर यात्रा गर्न बाध्य

वर्षा सुरु भएसँगै राजमार्ग हिलाम्ये भएको छ । वर्षामा चोरमारा –अरुणखोला–दुम्किबास, जङ्गल क्षेत्रमा रातोमाटो भएको स्थानमा सडक चिप्लो हुँदा पटक–पटक सडक अवरुद्ध हुने गरेको छ । अन्य स्थानमा समेत सडक हिलो हुँदा यात्रा कष्टपूर्ण हुने गरेको छ ।

दाउन्ने क्षेत्रमा समेत वर्षाका कारण सडक चिप्लो हुँदा सडक अवरुद्ध हुने गरेको छ । तर दाउन्नेभन्दा अहिले चोरमार, अरुणखोला, दुम्किबासको जङ्गल क्षेत्रमा रातो माटोका कारण सडक चिप्लो भएर अवरुद्ध हुने जोखिम रहेको योजना प्रमुख मगरले बताए । रातो माटोका कारण यातायात अवरुद्ध हुने जोखिम रहेको ठाउँमा निर्माण कम्पनीलाई ग्राभेल थप्न भनेको उनले बताए ।

रिलायन्स स्पिनिङ मिल्सले असार २७ गतेदेखि आइपीओ जारी गर्ने, भर्न ४१ हजार चाहिने Read Previous

रिलायन्स स्पिनिङ मिल्सले असार २७ गतेदेखि आइपीओ जारी गर्ने, भर्न ४१ हजार चाहिने

हिमालय ऊर्जाको १०० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन Read Next

हिमालय ऊर्जाको १०० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन