नेप्सेमा उच्च अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । दुई पटकसम्म पोजेटिभ सर्किट ब्रेक लागेर कारोबार स्थगित भई खुलेको नेप्से अन्त्यमा ४७ अंकले बढेर बन्द भएको हो ।

सत्ता समीकरण फेरिने भएसँगै लगानीकर्ता उत्साहित हुँदा नेप्सेमा उछाल आएको हो । सोमबार राति संसदका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने सहमति भएको थियो ।

दुई दलको सहमति अनुसार एमालेले अर्थमन्त्रालय पाउने र एमालेबाट विष्णुप्रसाद पौडेल अर्थमन्त्री बन्ने बताइएको छ । पौडेल सेयरबजारमैत्री अर्थमन्त्री भनेर चिनिँदै आएका छन् ।

मंगलबार नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१००.४३ बिन्दुमा पुगेको छ । सूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारेबार रकम १ अर्ब ५८ करोड रुपैयाँले बढेर ४ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।
आज ३१५ कम्पनीको १ करोड १६ लाख ४५ हजार ९०५ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । बैंकिङ, उत्पादनमूलक र व्यापार समूहको परिसूचक ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको १२ करोड ३३ लाख रुपैयाँ बढीको १ लाख ८१ हजार ६० कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका मध्ये २२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ कम्पनीको मात्रै घटेको छ ।

बढ्दोे बजारमा हिमालयन डिस्ट्रीलरीको सेयर मूल्य सर्वाधिक ८.५४ प्रतिशतले बढेको छ । त्यसैगरी, समाज लघुवित्त ६.९६ प्रतिशत, गुडविल फाइनान्स, नेशनल हाइड्रो, प्रभु इन्स्योरेन्स, हिमाल दोलखा हाइड्रोपावर, हिमालयन एभरेष्ट इन्स्योरेन्स र सानिमा जीआइसी इन्स्यारेन्सको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज उपकार लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ६.४६ प्रतिशत गुमाएका छन् ।

धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया रद्द नगर्न सर्वोच्चको अन्तरिम आदेश Read Previous

धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया रद्द नगर्न सर्वोच्चको अन्तरिम आदेश

सहकारी छानबिन संसदीय समितिले राष्ट्रिय दलहरूसँग माग्यो सुझाव Read Next

सहकारी छानबिन संसदीय समितिले राष्ट्रिय दलहरूसँग माग्यो सुझाव