काठमाडौं । बुद्ध एयरले नवविवाहित चार जोडीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउने भएको छ । बुद्धले काठमाडौं–पोखरा रुटमा दुइतर्फी हवाईटिकट निःशुल्क उपलब्ध गराउने भएको हो ।
बुद्ध एयरका अनुसार विहेकै पहिरनमा बेहुला बेहुली जहाजमा उडान गर्दा खिचेको तस्वीर एयरलाइन्सको सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ट्वीटरमा ट्याग वा सेयर गर्नुपर्नेछ ।
यसरी तस्वीर सेयर गर्नेमध्ये ४ जोडीलाई बुद्ध एयरले काठमाडौं-पोखरा-काठमाडौं रुटको टिकट उपहार स्वरुप प्रदान गर्ने एयरलाइन्सले जनाएको छ ।
‘विहेकै पहिरनमा बेहुला बेहुलीको उडान हुनुपर्ने र त्यो उडानको क्रममा कैद गरेको तस्बीर एयरलाईन्सलाई सामाजिक सञ्जालमा पोष्ट हुनुपर्नेछ। यसरी पोष्ट भएकोमध्ये चारजोडीलाई यो उपहार दिइनेछ,’ एयरलाइन्सद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
बुद्ध एयरले अहिले पोखरा-काठमाडौं रुटमा दिनमा १७ वटा उडान गरिरहेको छ । बुद्धले पोखरा–काठमाडौं बाहेक पोखराबाट भरतपुर, भैरहवा र नेपालगञ्ज पनि नियमित उडान गरिरहेको छ ।
बुद्ध एयरसँग हाल १८ वटा जहाज रहेका छन् । जसमा १५ थान एटीआर-७२ र तीन थान एटीआर ४२ जहाज रहेका छन् ।
बुद्ध एयरले अहिले आन्तरिकतर्फ १५० भन्दा बढी उडान भरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ काठमाडौँबाट भारतको वाराणसीका लागि उडान भर्दैआएको छ । कम्पनीले पोखरा, चितवन, भैरहवा तथा नेपालगञ्जबाट पनि उडान भर्दै आएको छ ।