मुग्लिन-मलेखु सडक विस्तार अति सुस्त, डेढ वर्षमा १३ प्रतिशत मात्रै प्रगति

चितवन । मुग्लिन-मलेखु सडकखण्ड विस्तार र स्तरोन्नतिका काम सुस्त गतिमा भइरहेको छ ।

पृथ्वी राजमार्गअन्तर्गतको ३९ किलोमिटर यो खण्डमा सन् २०२२ डिसेम्बरदेखि काम सुरु गरिएकामा १ वर्ष ६ महिनाको अवधिमा १३ प्रतिशत मात्र काम भएको छ । सम्झौता अनुसार यस अवधिमा ३३ प्रतिशत कार्यसम्पन्न हुनुपर्ने थियो ।

नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन)का सूचना अधिकारी ई कृष्ण आचार्यले भने नक्शाङ्कन, वर्षात् र चाडपर्वलगायत कारणले लक्ष्यअनुसार काम नभएको बताए। यहाँ सम्झौता गर्ने बेलाको नक्शाङ्कन परिवर्तन गर्नुपरेको र त्यस कार्यमा छ महिना लागेकाले पनि काममा ढिलाइ भएको उनले बताएयो ।

ई आचार्यका अनुसार यो खण्डमा रहेका आठवटा पुलमध्ये पाँच पुल निर्माण, नाली, मोड सुधार, टेवा पर्खाल निर्माण, कल्भड विस्तार र सडक चौडाइ गर्ने काम भइरहेका छन् । सडकखण्डमा ६ वटा पुल निर्माणका लागि ठेक्का लागेकामा हुग्दी खोलास्थित पुलमा केही व्यवस्थापकीय काम बाँकी रहेकाले निर्माण अगाडि बढेको छैन ।

विश्व बैंकको आर्थिक सहयोग रहेको यो खण्ड तीन वर्षभित्र निर्माणसम्पन्न गर्ने गरी शर्मा–जेडआई सीजी जेभीले ४ अर्बमा ठेक्का पाएको छ ।

हाल सात मिटर चौडाइ रहेको सडकका केही ठाउँमा दुई लेनको बनाउन कम्तीमा ९ मिटर चौडाइ बनाइने र बाक्लो बस्ती भएका विशालटार, मझिमटार, कुरिनटार र चुम्लिङटार गरी चार स्थानमा ७.१५ किलोमिटर सडक चार लेन बनाइने आचार्यले बताए ।

चार लेन सडक १४ मिटर फराकिलो हुनेछ । यस्तै तीन किलोमिटर उकाला ठाउँमा तीन लेन सडक बनाइने र यसको चौडाइ १०.५ मिटर हुनेछ । राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरिने प्रमुख सडक भएकाले उच्च सवारी चापका बाबजुद काम गर्नु परेकाले निर्माण कार्यलाई तीव्रता दिन नसकिएको आयोजनाले जनाएको छ ।

‘सडक निर्माणमा धेरै समय लागेमा यात्रुले थप हैरानी बेहोर्नुपर्ने हुन्छ । यसकारण छिटो काम सम्पन्न गर्न सम्बन्धित निर्माण व्यवसायीलाई ताकेता गर्दै आएका छौँ । अब बर्षात्को समयमा काम गर्न कठिन हुने भएकाले आगामी हिउँदमा कामले तीव्रता पाउने छ,’ सूचना अधिकारी ई कृष्ण आचार्यले भने ।

जुनमा भित्रिए ७६ हजारभन्दा बढी विदेशी पर्यटक Read Previous

जुनमा भित्रिए ७६ हजारभन्दा बढी विदेशी पर्यटक

बुद्ध एयरले नवविवाहित जोडीलाई सित्तैमा हवाई टिकट दिने Read Next

बुद्ध एयरले नवविवाहित जोडीलाई सित्तैमा हवाई टिकट दिने