नेप्सेमा लाग्यो दोस्रो पाेजेटिभ सर्किट ब्रेक, फेरि कारोबार स्थगित

काठमाडौं । सेयर बजारमा दोस्रो पाेजेटिभ सर्किट ब्रेक लागेको छ ।

मंगलबार बजार खुलेको १ मिनेटमै नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्दै २० मिनेटका लागि कारोबार स्थगित भएको थियो । त्यसपछि खुलेको बजार फेरि ३० सेकेण्ड कारोबार नहुँदै ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटका लागि कारोबार रोकिएको हो ।

नेप्से परिसूचक १०२.६८ बिन्दुले बढेर २१५६.०७ बिन्दुमा पुगेको छ । अवधिमा २२२ कम्पनीको १४ करोड १७ लाख रुपैयाँ बढीको ३ लाख ४६ हजार ५३५ कित्ता सेयर किनबेच भएको छ ।

सत्ता समीकरण फेरिने भएसँगै लगानीकर्ता उत्साहित हुँदा नेप्सेमा उछाल आएको हो । सोमबार राति संसदका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने सहमति भएको थियो ।

दुई दलको सहमति अनुसार एमालेले अर्थमन्त्रालय पाउने र एमालेबाट विष्णुप्रसाद पौडेल अर्थमन्त्री बन्ने बताइएको छ । पौडेल सेयरबजारमैत्री अर्थमन्त्री भनेर चिनिँदै आएका छन् ।

नेप्सेको नियम अनुसार कारोबार खुलेको पहिलो १ घण्टाभित्र (११ देखि १२ बजेसम्म) नेप्से परिसूचक ४ प्रतिशतले घट्यो वा बढ्यो भने सर्किट लगाई २० मिनेटका लागि कारोबार स्थगन हुन्छ । त्यसैगरी कारोबार सुरु भएको दोस्रो घण्टाभित्र (१२ देखि १ बजेसम्म) नेप्से परिसूचक ५ प्रतिशतले घट्यो वा बढ्यो भने पुनः सर्किट लगाई ४० मिनेटका लागि कारोबार रोकिन्छ ।

त्यस्तै, दोस्रो सर्किटपछि पनि सूचक ६ प्रतिशतले घट्यो वा बढ्यो भने सर्किट ब्रेक लगाइ सो दिनको बाँकी अवधिको कारोबार पूर्ण रुपमा बन्द गरिन्छ ।

नेप्सेमा १ मिनेटमै पोजेटिभ सर्किट ब्रेक, २० मिनेटका लागि कारोबार स्थगित Read Previous

नेप्सेमा १ मिनेटमै पोजेटिभ सर्किट ब्रेक, २० मिनेटका लागि कारोबार स्थगित

प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने, संसदमा विश्वासको मत माग्ने Read Next

प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने, संसदमा विश्वासको मत माग्ने