काठमाडौं । सेयर बजारमा सर्किट ब्रेक लागेको छ । मंगलबार बजार खुलेको १ मिनेटमै ४ प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्दै २० मिनेटका लागि कारोबार स्थगित भएको हो ।
नेप्से परिसूचक ८२.४८ बिन्दुले बढेर २१३५.८७ बिन्दुमा पुगेको छ ।१ मिनेटको अवधिमा २२ कम्पनीको ८ करोड ६९ लाख रुपैयाँ बढीको २ लाख २४ हजार ६६ कित्ता सेयर किनबेच भएको छ ।
सत्ता समीकरण फेरिने भएसँगै लगानीकर्ता उत्साहित हुँदा नेप्सेमा उछाल आएको हो । सोमबार राति संसदका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने सहमति भएको थियो ।
दुई दलको सहमति अनुसार एमालेले अर्थमन्त्रालय पाउने र एमालेबाट विष्णुप्रसाद पौडेल अर्थमन्त्री बन्ने बताइएको छ । पौडेल सेयरबजारमैत्री अर्थमन्त्री भनेर चिनिँदै आएका छन् ।