काठमाडौं । चक्रपथमा गुडाउने मोनो रेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम चरणमा पुगेको छ । काठमाडौं महानगरपालीका अन्तर्गत पब्लीक प्राइभेट प्रोजेक्ट (पीपीपी)का प्रमुख ध्रुव काफ्लेले मोनो रेलको डीपीआरको प्राविधिक काम सकिएको जानकारी दिए ।
उनले डीपीआरको फिल्डको काम सकिएको र त्यसलाई लेख्ने काम पूरा भइसकेको बताए ।उनका अनुसार डीपीआरमा केही कानुनी काम मात्र बाँकी रहेको छ ।‘डीपीआरको फाइनल तयार भइसकेको छ, केही कानुनी कुरा मिलाएर पेस गर्न मात्र बाँकी हो,’ काफ्लेले चाणक्य पोष्टसँग भने ।
अब उक्त डीपीआर पारित पेस भइसकेपछि त्यसको खरिद प्रकृयाका लागि ९० दिनको टेन्डर आव्हान गरिनेछ । उक्त टेन्डरमा इच्छुकको आवेदन आएपछि त्यसमा उनीहरुको छनोटको प्रकृया २० देखि ३० दिनसम्म लाग्ने छ ।
ठेक्का प्रकृयाबाट छनोट भएका ठेकेदार छानिएपछि मात्र एग्रिमेन्ट हुने छ । उक्त कार्यहरु सरासर भयो भने करिब १ सय ५० दिन लाग्न सक्ने उनले बताए ।
यस्तै ठेक्का प्रकृयामा नभई डीपीआर निर्माण गर्न दिएकै कम्पनीलाई दिइने हो भने त्यसका लागि पनि प्रकृया पूरा गर्न १ सय दिनको हाराहारीमा लाग्न सक्ने उनी बताउँछन् । उनका अनुसार प्रायः ठूला योजनाहरु कसलाई दिने भन्ने विषय जटिल हुने भएकाले समय घटबढ हुन सक्ने छ ।
२८.५ किलोमिटर लामो मोनोरेल निर्माणका लागि चिनियाँ रेलवे कम्पनी सीआरसीसीसँग सम्झौता भएको थियो । चक्रपथमा मोनोरेल चलाउन करिब ८० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
काठमाडौं उपत्यकामा कलंकीदेखि कोटेश्वर, चाबहिल, महारागञ्ज हुँदै पुनः कलंकीसम्म पुग्ने गरि सञ्चालन गरिने सम्भाव्य अध्ययनले देखाएको छ । सम्भाव्यता अध्ययनका अनुसार चक्रपथमा गुडाइने सो रेलले दैनिक एक देखि डेढ लाख यात्रुलाई सेवा दिने छ ।
तीन वटा डिब्बासहितको मोनोरेलले प्रतिघण्टा १० हजार यात्रुलाई सेवा दिने अनुमान गरिएको छ । मोनो रेलले १४ वटा स्टेशनबाट यात्रुलाई सेवा दिनेछ ।