सुन तस्करीमा पेवेल र सजिलो पेको संलग्नता पुष्टि, ९६ अर्बको कारोबार

काठमाडौँ । सुन तस्करीमा दुई भुक्तानी सेवा प्रदायक कम्पनीको संलग्नता भेटिएको छ । ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले गरेको दोस्रो चरणको अनुसन्धानबाट पेवेल नेपाल र सजिलो पेमेन्ट सर्भिसको संलग्नता भेटिएको हो ।

सीआइबीले सोमबार सरकारी वकिल कार्यालयलाई आफ्नो प्रतिवेदन बुझाएको छ । प्रतिवेदन अनुसार सुन तस्करीका लागि पेवेल र सजिलो पेको खातामा पैसा बचत गरी एजेन्टमार्फत अवैध भुक्तानी हुने गरेको खुलेको छ ।

स्थापनादेखि यी दुई पेमेन्ट गेटवेमार्फत कुल १ खर्ब २३ अर्बको कारोबार भएको छ । जसमा भौचर डिपोजिट गरी ९६ अर्ब रुपैयाँ बराबरको कारोबार भएको भेटिएको हो ।

सीआइबीले अनुसन्धानका क्रममा यी वालेटका ८ जनालाई पक्राउ गरी अनुसन्धान गरेको जनाएको छ । सुन तस्करीमा यी दुई गेटवेको संलग्न देखिएको भन्दै सीआइबीले दुवै कम्पनीको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो ।

गत जेठ २ गते एक सार्वजनिक सूचना जारी गर्दै राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पेमेन्ट सर्भिसेज सम्पूर्ण बैंकखाता रोक्का गरेको थियो ।

गत साउन २ गते प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ब्रेकसूमा लुकाएर ल्याएको ६० किलो सुन बरामद गरेको थियो । सीआईबीको अनुसन्धान अनुसार यही तस्करीमा संलग्न समूहले ३१९४ किलो सुन तस्करी गरेको खुलेको छ । जसमा ब्रेकसूमा लुकाएर मात्र ३६२ किलो ७७८ ग्राम सुन तस्करी गरिएको पाइएको छ ।

त्यस्तै, पानी तान्ने मोटर, विद्युतीय चुरोट (भेप) लगायत इलेक्ट्रोनिक सामानमा लुकाएर २ हजार ८३१ किलो सुन तस्करी भएको सीआइबीको अध्ययनको निष्कर्ष छ । यो सुन कुल ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपैयाँको हो ।

तस्करहरूले ५ वटा नक्कली कम्पनी खडा गरी उक्त परिमाणमा सुन ल्याएका हुन् । सुन तस्करीमा सीआइबीले ४६ जनालाई प्रतिवादी बनाएको छ । जसमा २० जनालाई पक्राउ गरेको छ भने २६ जना फरार छन् ।

सीआइबीले सन तस्करीमा संलग्नहरूलाई २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख रूपैयाँ बिगो दाबी गरेको छ ।

चन्द्रागिरि केबलकार दुई दिनका लागि बन्द Read Previous

चन्द्रागिरि केबलकार दुई दिनका लागि बन्द

उद्यमशीलता विकासका लागि काँग्रेसले उद्योगमन्त्रीलाई बुझायो १७ बुँदे ज्ञापनपत्र Read Next

उद्यमशीलता विकासका लागि काँग्रेसले उद्योगमन्त्रीलाई बुझायो १७ बुँदे ज्ञापनपत्र