काठमाडौं । नेपालमा पहिलो पटक २२ सिट क्षमताको विद्युतीय बस ल्याइने भएको छ । शशिला मोटर्स प्रालिले भ्यान्चे ब्राण्डको २२ सिट क्षमताको नयाँ विद्युतीय बस नेपाल भित्र्याउने भएको हो ।
एकपटकको फुल चार्जमा ३०० किलोमिटर गुड्ने यो बसमा ४०० एनएम टर्क र १४० किलोवाटको पिक पावर रहने कम्पनीले बताएको छ । सीएटीएल १२३ किलोवाटको लिथियम आयन ब्याट्री जडान हुने यो बसमा पूर्ण रुपमा एयर कन्डिसन र सबैखाले सेफ्टी फिचर उपलब्ध हुनेछ । यसको लम्बाइ २५ फिट हुनेछ ।
फराकिला सिट र पर्याप्त खाली ठाउँ हुने भएकाले यो बस लामो तथा छोटो दूरीमा संचालन गर्न उपयुक्त हुने शशिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बताए ।
१२३ किलोवाटको ब्याट्री क्षमताको विद्युतीय गाडी नेपालमै पहिलो पटक ल्याउन लागिएको खतिवडाको दाबी छ । उनले बस आइपुग्नु भन्दा पहिलो आवश्यक पार्टपुर्जा र सर्भिसिङ तथा मर्मत सबैको व्यवस्था मिलाइने र बस संचालकलाई बिना झन्झट सेवा दिने पनि बताए ।
दशैंलाई लक्षित गरी ल्याउन लागिएको उक्त बसको बुकिङ्ग भने अहिलेदेखि नै खुला भएको छ । बसको मूल्य निर्धारण हुन बाँकी रहे पनि अहिले बुकिङ गर्ने पहिलो ५० ग्राहकले ८९ लाख ९० हजार रुपैयाँमा पाउने छन् ।
विगत १० वर्षदेखि व्यवसायिक गाडीहरू बिक्री वितरण गर्दै आएको शशिला मोटर्स नेपालका लागि हाइगर विद्युतीय बसको आधिकारिक बिक्रेता पनि हो । अब कम्पनी भ्यान्चे ब्राण्डका नेपालको आधिकारिक बिक्रेता समेत भएको छ । जुन स्प्रान्टर डिजाइनको बस बनाउने चीनकै अग्रणी कम्पनी हो ।