काठमाडौँ । बबरमहल–बानेश्वर सडकखण्डको बिजुली बजारको पुल नजिकै फल्चा शैलीको बस बिसौनी आजबाट शुभारम्भ भएको छ ।
शनिबार महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले फल्चा उद्घाटन गरेकी हुन् । यसअघि गत १ गते बिजुली बजार सडकको अर्को किनाराको फल्चा सञ्चालनमा ल्याइसकिएको छ ।
‘यी संरचनाहरु काठमाडौँको पहिचानसँग जोडिएको नेवा निर्माण शैलीका स्मारक बन्नेछन् । काठमाडौँको पहिचान मुख्य सडकबाट प्रवर्धन हुनेछ ,’ समुदघाटनपछि बोल्दै उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘सहरी सेवा वितरण र सुविधा व्यवस्थापन गर्ने कामसँग मौलिकता जोड्दै लगिनेछ ।’
परम्परागत निर्माण सामग्री, शिल्प र शैली पछ्याउनु परेकोले आधुनिक संरचना निर्माणभन्दा लगानी र निर्माण अवधि धेरै लागेको वडाध्यक्ष रामकुमार केसीले जानकारी दिए । यसरी निर्माण गरिएको संरचनाको सुरक्षा गर्न फल्चाका उपभोक्ता, पैदलयात्री तथा स्थानीयबासी सबैले समान दायित्व बोध गर्नु पर्ने उनको भनाइ थियो ।
कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरेर बिसौनी निर्माण गरिएको हो । उनका अनुसार २ वटा बस बिसौनी निर्माण सम्पन्न गर्दा करिब ५३ लाख रुपैयाँ खर्च भएको छ ।
यसपछि अब नयाँ बानेश्वर चोक वारिपारि २ वटा यस्तै शैलीका बस बिसौनी निर्माण गर्ने योजना रहेको तण्डुकारले जानकारी दिए।