सबैभन्दा महँगो सेयर मूल्य भएका ५ लघुवित्त : चारको खराब कर्जा १०% माथि, एउटा घाटामा

काठमाडौं । सेयर बजार पछिल्लो ३ वर्ष यता बियरिस ट्रेन्डमा छ । २०७८ भदौमा सर्वाधिक ३१९८ बिन्दुको कीर्तिमान बनाएको नेप्से अहिले २०५० बिन्दु हाराहारीमा छ । नीतगत कडाइ र अर्थतन्त्रमा आएको शिथिलताका कारण सेयर बजारले गति लिन सकिएको छैन ।

तर, यही अवधिमा माइक्रोफाइनान्स समूहको सेयर मूल्यमा भने उछाल आएको छ । समग्र सेयर बजारले गति लिन नसके पनि माइक्रोफाइनान्स समूहको परिसूचकले भने डेढ वर्ष यताकै उच्च भएको छ । पछिल्लो ६ महिनामा मात्रै माइक्रोफाइनान्सको परिसूचक करिब १४०० अंक्ले बढेको छ । गत मंसिर २१ गते ३२५६ रहेको लघुवित्तको परिसूचक गत साता ४६५६ बिन्दुमा पुग्यो ।

अहिले लघुवित्तको सेयर हटकेक बन्दै गएका छन् । लघुवित्तमा लगानीकर्ताको आकर्षण उच्च छ । समग्र लघुवित्त समूहमै उछाल आउँदा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । पछिल्लो ६ महिनामै मात्रै लघुवित्त कम्पनीको सेयर मूल्य साढे ३ गुणासम्मले बढेको छ । अहिले लघुवित्तहरूको सेयर मूल्य बढ्नुमा मुख्य ३ कारण देखिन्छन् । सेयर मूल्य निकै सस्तो हुनु, वित्तीय अवस्थमा सुधार आउनु र सेयर संख्या थोरै भएकाले चलखेल हुँदा छोटो समयमै लघुवित्तको सेयर मूल्यमा उछाल आएको हो ।

लघुवित्तको सेयर मूल्य अहिले महँगिएको छ । गत मंसिरमा मुस्किलले एकदर्जन लघुवित्तको मात्रै सेयर मूल्य १ हजार रुपैयाँ रहेकोमा अहिले साढे २ दर्जन लघुवित्तको सेयर मूल्य १ हजार माथि छ । त्यस्तै, ३ वटाको २ हजार माथि पुगेको छ । अहिले लघुवित्तको सेयर ७०० रुपैयाँ मसनि पाउनै मुस्किल छ ।

नेप्सेमा हाल ५३ वटा लघुवित्त सूचीकृत छ । तीमध्ये समाज लघुवित्तको सेयर मूल्य सबैभन्दा महँगो प्रतिकित्ता २५४८ रुपैयाँ छ । त्यस्तै, आत्मनिर्भर र नेष्डो समृद्धिको २ हजार माथि छ भने युनिक नेपाल र उपकारको २ हजार नजिक छ । यहाँ हामीले यिनै सबैभन्दा महँगो सेयर मूल्य भएका ५ लघुवित्तको बारेमा चर्चा गरेका छौं ।

समाज लघुवित्त

चुक्ता पूँजीका आधार सबैभन्दा सानो रहेको समाज नेप्सेमा सूचीकृतमध्ये सबैभन्दा महँगो सेयर मूल्य भएको लघुवित्त हो । यसको अन्तिम कारोबार मूल्य प्रतिकित्ता २५४६ रुपैयाँ छ ।

सेयर मूल्य सबैभन्दा महँगो भए पनि समाजको वित्तीय अवस्था भने नाजुक छ । थोरै सेयर संख्या भएकाले नै चलखेल गरी मूल्य उचालिएको देखिन्छ । चालु आवको चैत मसान्तसम्म समाज २२ लाख ९८ हजार रुपैयाँ घाटामा छ ।

यस अवधिमा समाजको खुद ब्याज आम्दानी १ करोड ९३ लाख रुपैयाँबाट घटेर ९९ लाख ५४ हजार रुपैयाँमा सीमित भएको छ । नाफा संचालन मुनाफा २ करोड ४३ लाख रुपैयाँ ऋणात्मक ।

समीक्षा अवधिमा लघुवित्तले १३ करोड ४२ लाख निक्षेप र २५ करोड ६० लाख रुपैयाँ सापटी लिई कुल ४२ करोड २४ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।

हाल २ करोड २८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २ करोड १८ लाख रुपैयाँ संचित छ । समीक्षा अवधिमा समाजको खराब कर्जा ०.०९ प्रतिशतबाट बढेर १०.५३ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी ३७.९१ रुपैयाँबाट घटेर १०.०६ रुपैयाँ ऋणात्मक भएको छ । प्रतिसेयर नेटवर्थ १९५.५१ रुपैयाँ छ ।

आत्मनिर्भर लघुवित्त

आत्मनिर्भर दोस्रो महँगो सेयर मूल्य भएको लघुवित्त हो । यसको अन्तिम कारोबार मूल्य प्रतिकित्ता २४०० रुपैयाँ छ । चालु आवको चैत मसान्तसम्ममा आत्मनिर्भरले १ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५.५२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६.१७ प्रतिशत घटेर ८ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, सञ्चालन मुनाफा ७ करोड ६ लाख रुपैयाँ ऋणात्मक छ । अघिल्लो वर्ष लघुवित्तको संचालन नाफा ५ करोड ५१ लाख रुपैयाँ थियो । खराब कर्जा बढ्दा लघुवित्तको इम्पेयरमेन्ट चार्ज ८८७.२७ प्रतिशतले बढेर १३ करोड २० लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा आत्मनिर्भरले १३ करोड १९ लाख सापटी र ८४ करोड ५७ लाख निक्षेप संकलन गरी १ अर्ब ४६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

हाल ६ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको रिजर्भ एण्ड सरप्लसमा १९ करोड ८० लाख रुपैयाँ संचित छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ९५.४१ रुपैयाँबाट घटेर २४.७० रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ३८८.८६ रुपैयाँ छ । समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ७.७१ प्रतिशतबाट बढेर ११.९४ प्रतिशत पुगेको छ।

नेष्डो समृद्ध लघुवित्त

नेष्डो तेस्रो महँगो सेयर मूल्य भएको लघुवित्त हो । गत आवको तेस्रो त्रैमाससम्ममा १४ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको यस लघुवित्तले चालु आवको सोही अवधिमा ४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको तुलनामा ६८.४९ प्रतिशतले कम हो।

चालु आवमा नेष्डोको खुद ब्इाज आम्दानी ३० प्रतिशतले घटेर १९ करोड ४६ लाख रुपैयाँमा सीमित भएको छ । संचालन मुनाफा ६ करोड ५८ लाख रुपैयाँ छ । चैतसम्ममा लघुवित्तले सम्भावित जोखिमबापत ४ करोड ५ लाख रुपैयाँ छुट्याएको छ।

चैतसम्म नेष्डोले २ अर्ब ४६ करोड निक्षेप र १५ करोड सापटी लिई कुल ३ अर्ब ६१ करोड कर्जा लगानी गरेको छ । हाल २५ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यसको जगेडा कोषमा २३ करोड २७ लाख र रिटेन्ड अर्निङमा ५२ करोड संचित छ ।

समीक्षा अवधिमा नेष्डोका प्रतिसेयर आम्दानी १८.७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ३९५.०१ रुपैयाँ छ । गत वर्ष ८.५५ प्रतिशत रहेको खराब कर्जा चालु आवमा बढेर १२.५५ प्रतिशत पुगेको छ।

युनिक नेपाल लघुवित्त

युनिक चौथो धेरै महँगो सेयर मूल्य भएको लघुवित्त हो । युनिकले चैत मसान्तसम्म ३ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । जबकी गत वर्ष यही अवधिमा लघुवित्त ३ करोड ८८ लाख रुपैयाँ घाटामा थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी घटे पनि सञ्चालन नाफा बढ्दा नाफामा छलाङ मारेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९.०६ प्रतिशतले घटेर १७ करोड २५ लाख रुपैयाँमा सीमित भएको छ ।

यस अवधिमा लघुवित्तको संचालन नाफा भने ५ करोड २८ लाख रुपैयाँ छ । जबकी गत वर्ष यही अवधिमा संचालन नाफा ३ करोड ८८ लाख रुपैयाँ ऋणात्मक थियो ।

समीक्षा अवधिमा लघुवित्तले २ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी कुल ३ अर्ब ४१ करोड रुपैयाँ ऋण लगानी गरेको छ । हाल १४ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिटेन्ड अर्निङमा १५ करोड २६ लाख रुपैयाँ र जगेडा कोषमा १८ करोड २५ लाख रुपैयाँ संचित छ ।

समीक्षा अवधिमा लघुवित्तको वितरण योग्य नाफा १४ करोड ८८ लाख रुपैयाँ छ । यसबाट कम्पनीले १००.२ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २५.८७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ३२८.६५ रुपैयाँ रहेको छ । यस अवधिमा लघुवित्तको खराब कर्जा भने बढेको छ । गत वर्ष १०.२९ प्रतिशत रहेको खराब कर्जा बढेर ११.०५ प्रतिशत पुगेको छ ।

उपकार लघुवित्त

उपकार पाँचौं महँगो सेयर मूल्य भएको लघुवित्त हो । यसले चैत मसान्तसम्म त्रैमाससम्म ७२ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा ३७८.२४ प्रतिशत धेरै हो । गत वर्ष तेस्रो त्रैमाससम्म उपकारले १५ लाख २६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत वर्ष ४५ लाख ११ हजार रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको संचालन नाफा बढेर ८५ लाख ३० हजार पुगेको छ । यसले ३१ लाख ५० हजार रुपैयाँ राइट ब्याक गरेको छ ।

लघुवित्तको खुद बाज आम्दानी ५.१८ प्रतिशत बढेर ९ करोड ४१ लाख पुगेको छ । समीक्षा अवधिमा उपकारले १ अर्ब १५ करोड निक्षेप र ७१ करोड ८५ लाख रुपैयाँ सापटी लिई कुल २ अर्ब १६ करोड कर्जा लगानी गरेको छ ।

हाल १० करोड ६१ लाख ४८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ एण्ड सरप्लसमा १४ करोड २ लाख रुपैयाँ संचित छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १०.९१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ भने २२१.२ रुपैयाँ छ । यस अवधिमा खराब कर्जामा सुधार आएको छ । गत वर्ष २.८२ प्रतिशत रहेको लघुवित्तको खराब कर्जा घटेर १.५३ प्रतिशतमा झरेको छ ।

 

 

बिजुली बजारमा संचलनमा आयो फल्चा शैलीको बस बिसौनी, अब बानेश्वरमा दुईटा बनाइने Read Previous

बिजुली बजारमा संचलनमा आयो फल्चा शैलीको बस बिसौनी, अब बानेश्वरमा दुईटा बनाइने

साउन १ देखि वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण 'अनलाइन'बाटै Read Next

साउन १ देखि वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण 'अनलाइन'बाटै