देशभर ५०% रोपाइँ गर्न मनसुनी वर्षाकै भर, आधा असार बित्दा भयो १०% मात्रै

काठमाडौं । कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार झन्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा हुने गरेको छ । सबै क्षेत्रमा सिँचाइको सुविधा नहुँदा किसान रोपाइँ गर्न आकाशे पानीकै भर पर्नुपरेको हो । रोपाइँ गर्न किसान कहिले आकाशे पानी पर्ला भनेर कुर्नुपर्ने अवस्था यथावत छ ।

कृषि मन्त्रालयको तथ्याङ्कअनुसार यस वर्ष देशभर ९.८ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । गत वर्ष असार १५ गतेसम्म करिब ८.७५ प्रतिशत मात्र धान रोपाइँ भएको थियो । कृषि मन्त्रालयका सूचना अधिकृत महानन्द जोशी यस वर्ष मनसुन छिटो भित्रिए पनि ढिलो सक्रिय हुँदा धान रोपाइँ सन्तोषजनक नरहेको बताउँछन् ।

‘हालसम्म अधिकांश सिँचाइ सुविधा पुगेका क्षेत्रमा मात्रै धान रोपाइँ भएको छ,’ उनले भने, ‘कतिपय स्थानमा राम्रोसँग वर्षा भएको छैन, कहिले वर्षा होला र धान रोपौँला भनेर किसान पर्खाइमा छन् ।’

मन्त्रालयको तथ्याङ्कअनुसार कोशी प्रदेशमा असार १२ गते सम्ममा धान रोपाइँ ५.६ प्रतिशत भएको छ । सो प्रदेशमा गत वर्ष असार १० गतेसम्म ६.५ प्रतिशत धान रोपाइँ भएको थियो । पूर्वी क्षेत्रमा ढिलो गरी धान रोप्ने गरिन्छ । मधेस प्रदेशमा भने गत वर्ष र यस वर्ष बराबर नै रोपाइँ भएको पाइएको छ । सो प्रदेशमा यस वर्ष २.५ प्रतिशत मात्रै धान रोपाइँ भएको तथ्याङ्क छ । गत वर्ष सोही अवधिमा २.५ प्रतिशत नै रोपाइँ भएको थियो ।

यसैगरी, बागमती प्रदेशमा यस वर्ष ५ प्रतिशत मात्रै रोपाइँ भएको छ । गत वर्ष सो प्रदेशमा १८.३ प्रतिशत रोपाइँ भएको थियो । गण्डकी प्रदेशमा गत वर्ष यही समयमा ६.९ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ८.३ प्रतिशत रोपाइँ भएको छ ।

यसैगरी, लुम्बिनी प्रदेशमा यस वर्ष अघिल्लो वर्षको तुलनामा कम रोपाइँ भएको छ । गत वर्ष लुम्बिनी प्रदेशमा १०.९ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ८.८ प्रतिशत रोपाइँ भएको छ । कर्णाली प्रदेशमा गत वर्ष २२.६ प्रतिशत रोपाइँ भएकामा यस वर्ष २३.९ प्रशित रोपाइँ भएको छ । सुदूरपश्चिममा गत वर्ष २२.६ प्रतिशत रोपाइँ भएकामा यस वर्ष हालसम्म २५ प्रतिशत रोपाइँ भएको छ । सुदूरपश्चिममा अन्य प्रदेशभन्दा चाँडो रोपाइँ सुरु हुने भएकाले अन्य प्रदेशको तुलनामा बढी रोपाइँ भएको सूचना अधिकृत जोशीको भनाइ छ ।

सूचना अधिकृत जोशीका अनुसार साउन महिनाको अन्तिमसम्म ९० प्रतिशत रोपाइँ सम्पन्न हुने प्रक्षेपण गरिएको छ । ‘मुलुकको सबै क्षेत्रमा सिँचाइ सुविधा पुग्न सकेको छैन, तसर्थ कृषि मन्त्रालयले सिँचाइ कुलो विस्तार गरेर धान रोपाइँलाई प्रवद्र्धन गर्दैछ,’ उनले भने, ‘कहिले खडेरीले धानको बीउ सुक्ने, कहिले पानी नपर्दा सिँचाइ गर्न नसकिने जस्ता समस्याका कारण धान उत्पादन वृद्धिमा ह्रास आउने गर्छ ।’

राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक मधुरा यादवले धान उत्पादन वृद्धिका लागि मुलुकका सबै क्षेत्रमा सिँचाइ सुविधा पुग्न आवश्यक रहेको बताए। ‘सबै स्थानमा सिँचाइ सुविधा पुग्न नसक्दा कहिले रोपाइँ नै नहुने कहिले ढिलाइ हुने त कहिले बीउ नै राख्न नपाउने अवस्था छ, रोपाइँपछि पनि सिँचाइको सुविधा नहुँदा धान उत्पादनमा कमी आएको छ,’ उनले भने, ‘मुलुकको शतप्रतिशत क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन सके धान उत्पादनमा वृद्धि भई आयात प्रतिस्थापन गर्न सकिन्छ ।’

मन्त्रालयका अनुसार आव २०८०/८१ को जेठ मसान्तसम्ममा रु ८८ करोड ६५ लाख बराबरको धानको बीउ आयात गरिएको छ । सो अवधिमा करिब रु ११ अर्ब ५५ करोडको धान आयात गरिएको छ । सो अवधिमा रु ८ अर्ब ६९ करोड बराबरको चामल तथा रु ९ लाख २० हजार मूल्य बराबरको कनिका आयात भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष तीन दिनअगावै मुलुकको पूर्वी क्षेत्रबाट मनसुन सुरु भएको थियो । सामान्यतया जुन १३ तारिखदेखि मनसुन नेपाल भित्रिने गरे पनि यस वर्ष जुन १० तारिखमा नै मनसुन भित्रिएको थियो । विभागका अनुसार मुलुकभर मनसुन फैलिन भने समय लागेको थियो । यस वर्ष जुन २३ तारिखमा मात्रै मुलुकभर मनसुन फैलिएको हो । मनसुन छिटो फैलिए पनि धान रोपाइँ सन्तोषजनक नभएको कृषि मन्त्रालयले जनाएको छ ।

यस वर्षको मनसुन अवधिमा मुलुकभर औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ । विभागका अनुसार सुदूरपश्चिम प्रदेशको उत्तर–पश्चिमी भूभाग, बागमती प्रदेशको दक्षिण–पूर्वी भूभाग, मधेस प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिमी भूभागमा सरदर नै वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिमा मानन्धरले मनसुन सक्रिय रहने र आइतबारसम्म मुलुकको विभिन्न स्थानमा वर्षाको सम्भावना छ । आगामी केही दिनमा मनसुनको न्यून चापीय रेखा पूर्णरूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहने र यसका कारण आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने सम्भावना रहेको उनको भनाइ छ ।

‘आइतबारसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै गण्डकी प्रदेशका केही स्थानमा, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ,’ मौसमविद् मानन्धरले भनिन्।

जलस्रोत तथा सिँचाइ विभागको तथ्याङ्कअनुसार करिब २५ लाख ३० हजार हेक्टर सिँचाइयोग्य जमिनमध्ये हालसम्म करिब १५ लाख हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने गरी सिँचाइको संरचना निर्माण गरिएको छ । तर करिब एक तिहाइ भूमिमा मात्र वर्षभरि सिँचाइ सुविधा उपलब्ध हुन सकेको विभागद्वारा २०८० चैतमा प्रकाशित ‘जलस्रोत तथा सिँचाइ वार्षिक पुस्तिक’मा उल्लेख छ ।

‘हाल ठूला बहुउद्देश्यीय अन्तर–जलाधार जल–पथान्तरणका केही आयोजना निर्माणका क्रममा छन् । केही निर्माणको तयारीका क्रममा छन् । करिब ५० प्रतिशत सिर्जित कृषि क्षेत्र किसानद्वारा व्यवस्थित सिँचाइ प्रणालीमा रहेका छन्,’ सो पुस्तकमा उल्लेख छ । निर्माण सम्पन्न भइसकेका साना आयोजना जलउपभोक्तालाई हस्तान्तरण गर्ने नीतिबमोजिम सम्बन्धित जनउपभोक्तालाई हस्तान्तरण गरिएका छन् र सम्बद्ध संस्थाबाट सञ्चालन भइरहेका पनि छन् । मझौला तथा ठूला सिँचाइ आयोजना भने सरकार तथा जलउपभोक्ता संस्थाको संयुक्त व्यवस्थापनको अवधारणाअनुरूप सञ्चालनमा छन् ।

धान उत्पादनको अवस्था

कृषि मन्त्रालयको तथ्याङ्कअनुसार चालु आवमा धानको कूल उत्पादन गत आवभन्दा ४.३३ प्रतिशतले वृद्धि भई ५७ लाख २४ हजार २३४ मेट्रिक टन पुगेको छ । जुन विगत चार वर्षको औषत उत्पादनको तुलनामा ५.०८ प्रतिशतले बढी हो ।

कुल धानबाली भित्र्याइएको क्षेत्रफल गत आवको तुलनामा ०.६१ अर्थात् ८ हजार ८०० हेक्टरले कमी भई १४ लाख ३८ हजार ९८९ हेक्टर कायम हुन पुगेको छ । यो क्षेत्रफल गत चार आवको औषत क्षेत्रफलको तुलनामा १.७३ प्रतिशतले कम हो । धानबालीको औषत उत्पादकत्व गत आवको तुलनामा ४.९७ प्रतिशतले वद्धि भई ३.९८ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ । यो गत चार वर्षको औषत उत्पादकत्वभन्दा ६.९२ प्रतिशतले बढी हो ।

चालु आवमा धानको उत्पादन कोशी प्रदेशमा बढी रहेको छ भने कर्णाली प्रदेशमा न्यून छ । चालु आवमा उत्पादकत्वतर्फ कोशी प्रदेश ४.४३ मेट्रिक टन प्रतिहेक्टरसहित अग्र स्थानमा रहन गयो भने मधेस प्रदेश ३.४९ मेट्रिक टन प्रतिहेक्टरमा सीमित भई न्यून स्थानमा रहन पुग्यो ।

गत आवको तुलनामा उत्पादन र उत्पादकत्व वुद्धिका हिसाबले लुम्बिनी प्रदेश अग्रस्थानमा छ । मधेस प्रदेश ऋणात्मक अवस्थामा छ । चालु आवमा धान उत्पादन वृद्धि हुनुमा बीउको सहजै उपलब्धता र रोग किराको प्रकोपमा कमी, बाढ़ीपहिरोबाट धान बालीमा पर्न जाने नकारात्मक असरमा कमी, मलखादको उपलब्धतामा आएको सुधार, कृषि औजार र प्रविधिको प्रयोग तथा मौसमी अनुकूलतालाई लिइएको छ । मधेस प्रदेशका केही जिल्लामा धान रोप्ने समयमा पर्याप्त वर्षा नभएकाले अरु प्रदेशको तुलनामा उत्पादन र उत्पादकत्वमा ह्रास आएको छ ।

बुद्ध एयरले भित्र्यायो १८ औं एटीआर जहाज Read Previous

बुद्ध एयरले भित्र्यायो १८ औं एटीआर जहाज

भारतले १७ वर्षपछि जित्यो टी-२० विश्वकपको उपाधि Read Next

भारतले १७ वर्षपछि जित्यो टी-२० विश्वकपको उपाधि