काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया रद्द भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा रहेको बोर्ड अध्यक्ष छनोट समितिको शुक्रबार बसेको बैठकले प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो ।
गत फागुनदेखि सुरु भएको बोर्ड अध्यक्षको छनोट प्रक्रिया अन्तिम चरणमा पुगेपछि रद्द भएको हो । सिफारिस समितिले महान्यायाधिवक्ता कार्यालयको राय अनुसार छनोट प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो ।
सरकारले गत माघ ४ गते आयोगका उपाध्यक्ष डा. श्रेष्ठको संयोजकत्वमा बोर्ड अध्यक्ष सिफारिस समिति गठन गरेको थियो । सो समितिले फागुन १६ गते दरखास्त आह्वान गरेको थियो ।
बोर्ड अध्यक्षका लागि १९ जनाले आवेदन दिएका थिए । तीमध्ये समितिले सन्तोष नारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ, कृष्ण बहादुर कार्की, डा. नवराज श्रेष्ठ र चिरञ्जीवि चापागाईं अन्तिम पाँचमा छनोट गरेको थियाे ।
समितिले सर्टलिस्टमा परेका ५ जनालाई अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि असार २ गते बोलाएको थियो । तर, सन्तोष नारायण र मुक्ति मात्रै उपस्थित भएका थिए । सो दिन अनुपस्थित भएका कार्की, चापागाई र नवराजलाई समितिले अन्तर्वाताका लागि फेरि असार ५ गते बोलाएको थियो । सो दिन पनि उनीहरू नगएपछि समितिले महान्यायाधिवक्ता कार्यालयसँग राय मागेको थियो ।
महान्यायाधिवक्ता कार्यालयले असार ११ गते समितिलाई धितोपत्र ऐनको व्यवस्था अनुसार कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्न वा छनोट प्रक्रिया नै रद्द गर्न राय दिएको दिएको थियो ।
महान्यायाधिवक्ता कार्यालयले राय पठाएपछि असार १२ गते बुधबार दुई पटकसम्म समितिको बैठक बसेको थियो । तर, ती बैठकमा कुनै निर्णय हुन सकेको थिएन । स्रोतका अनुसार समिति संयोजक डा. मीनबहादुर श्रेष्ठ र सदस्य उदय निरौला सर्टलिस्टमा परेका पाँचै जनाको नाम सिफारिस गर्ने पक्षमा देखिएका थिए । तर, त्यसमा अर्थसचिव मधु मरासिनीले असहमति जनाएपछि पूरै प्रक्रिया नै रद्द भएको हो ।
बोर्ड अध्यक्ष छनोटका लागि अब फेरि नयाँ प्रक्रिया थाल्नुपर्नेछ । तत्कालीन अध्यक्ष रमेश कुमार हमालको कार्याकाल सकिएसँगै गत पुसदेखि बोर्ड नेतृत्वविहीन छ ।