यस वर्षको रोपाइँ महोत्सव चितवनमा हुने

चितवन । हरेक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव यस वर्ष चितवनमा मनाइने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनको धान जोन क्षेत्रको बछौलीमा प्रधानमन्त्रीको उपस्थितिमा रोपाइँ महोत्सव गर्न लागिएको हो ।

रत्ननगर नगरपालिका–७ बछौलीमा महोत्सव मनाउने तयारी गरिएको आयोजक समितिका संयोजक एवं कृषि विभागका महानिर्देशक नरहरिप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ महोत्सव गर्न लागिएको हो ।

महोत्सवमा धान रोप्ने मेसिनले एक हेक्टर क्षेत्रफलमा धान रोपिने संयोजक घिमिरेले बताए । बछौली बहुउद्देशीय कृषि समूहमा आयोजना गर्न लागिएको उक्त महोत्सवमा कृषि क्षेत्रमा आधुनिकीकरण, जलवायुमैत्री तथा जलवायु परिवर्तनसँग जुध्न सक्ने धानका जातको बारेमा जानकारी दिइने उनले बताए ।

संयोजक घिमिरेका अनुसार सुक्खा क्षेत्र सहन सक्ने छ जात र डुबान सहन सक्ने दुई जातका धानको बारेमा जानकारी गराइने छ । ‘अहिले मनसुन ढिला सुरु हुँदा कतै बीउ राख्ने त कतै रोपाइँ गर्ने अवस्था छ । धान रोपाइँमा मेसिनको प्रयोग गर्नसके कृषकलाई समयका साथै आर्थिकरुपमा खर्च कम लाग्ने देखिन्छ,’ उनले भने, ‘प्रविधिको प्रयोग गरेर कृषि कर्म गरे ३० प्रतिशतसम्म उत्पादन बढ्ने छ ।’

जिल्लामा अहिले पाँचवटा मेसिनबाट धान रोपाइँ हुँदै आएको छ । एक बिघा क्षेत्रफलमा धान रोप्दा रु पाँच हजार मात्र खर्च हुने भएकाले हरेक दृष्टिकोणबाट मेसिन फलदायी हुने संयोजक घिमिरेले बताए । जलवायु परिवर्तनको असरको न्यूनीकरणका लागि प्रविधिको विकास भए पनि यसको प्रयोगका बारेमा जानकारी नहुँदा समस्या हुने गरेको उनको भनाइ छ ।

औषधि उद्योगको गुणस्तर अध्ययन गर्न समिति गठन, दुई साता भित्र प्रतिवेदन Read Previous

औषधि उद्योगको गुणस्तर अध्ययन गर्न समिति गठन, दुई साता भित्र प्रतिवेदन

धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया रद्द, अब फेरि दरखास्त आह्वान गर्नुपर्ने Read Next

धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया रद्द, अब फेरि दरखास्त आह्वान गर्नुपर्ने