काठमाडाैं । इन्डोनेशिया तथा इथियोपियामा बोइङकाे ७३७ म्याक्स मोडलका दुईवटा विमान दुर्घटनाग्रस्त भएपछि उक्त मोडलका विमानको उडान संसारभरि रोकिएको थियो। बोइङको उत्पादन बन्द गर्ने निर्णयले अमेरिकी अर्थतन्त्रका साथै विश्वभरि रहेका आपूर्तिकर्ता एवं विमानसेवाहरू प्रभावित हुने बताइएको छ।
दुईवटा घातक दुर्घटनाका कारण नौ महिनादेखि उडान रोकिएको भए पनि उक्त नयाँ किसिमको जेट मोडलको उत्पादन भने जारी थियो। इन्डोनेशिया तथा इथियोपियामा उक्त जेट मोडलको नयाँ फीचरमा समस्या देखिएका कारण भएका दुर्घटनामा ३०० जनाभन्दा धेरैको ज्यान गएको थियो। ती दुर्घटनाका मुख्य कारक ठानिएको स्वचालित नियन्त्रण प्रणालीको समस्या समाधान गर्न बोइङले त्यसको पुन: डिजाइन गर्ने बताउँदै आएको थियो।

अब भने बोइङले ७३७ म्याक्स विमानको निर्माण जनवरी महिनादेखि स्थगन गर्ने जनाएको छ। विश्वभरि नियामक निकायहरूले उक्त एयरलाइनरको सुरक्षाबारे छानबिन गर्दै गर्दा कम्पनीले अहिले स्टकमा रहेका ती विमानलाई हस्तान्तरण गर्नेपट्टि प्राथमिकता दिने बताएको छ।
बोइङका अनुसार ऊसँग अहिले पनि उक्त मोडलका ४०० वटा विमान गोदाममा छन्। विश्वका कतिपय विमानसेवाले ७३७ म्याक्स विमान मगाएका थिए। तर बोइङका इन्जिनियरहरूलाई समस्या समाधान समय लाग्ने भएकाले हस्तान्तरण गरिएको थिएन।
बोइङलाई ठूलो आर्थिक क्षति
पछिल्लो समस्याका कारण कम्पनीलाई कम्तीमा नौ अर्ब डलरको क्षति भएको छ। उसले ती विमान यो वर्षको अन्त्यसम्ममा फेरि उडाउन सकिने अनुमान गरेको थियो।
तर, अमेरिकी सङ्घीय नियामक निकायले त्यस्तो समयतालिकाभित्रै अनुमति दिन नसकिने बताएको थियो। बोइङ अमेरिकाको सबैभन्दा ठूलो र धेरै निर्यात गर्ने उद्योग हो।
कुनै विमानको उत्पादन रोक्नु अभूतपूर्व कदम हो। यसले सम्पूर्ण अमेरिकी अर्थतन्त्रमा प्रभाव पार्नेछ। साथै यसको प्रभाव विश्वभरि छरिएका आपूर्तिकर्ता तथा विमानसेवाहरूमा पनि पर्नेछ।