काठमाडौं । इँटा, पेभर्क, ब्लक, कर्बस्टोन र हालोब्लक उत्पादन गरिरहेको एसियन कंक्रिटो उद्योगले सरकारी स्तरबाट कुनै किसिमको समन्वय र सहयोग नहुँदा निकासीमा समस्या पैदा भएको जनाएको छ । भैरहवामा २०७५ सालदेखि उत्पादन शुरु गरेको उद्योगले १ अर्ब ५० करोड रुपैयाँ लगानी गरिसकेको जनाएको छ ।
उद्योगले आफ्ना उत्पादनमा धुँवा धूलोको शून्य उत्सर्जन हुने, १०० प्रतिशत सुख्खा, प्राकृतिक तरिकाले स्वचालित कोठामा एकनाशको तापक्रममा सुकाइएको, पानी सोस्ने क्षमता ६ देखि ८ प्रतिशतमात्र रहेको र उत्पादनहरुको आकार एकनाशको हुने कम्पनीको दाबी छ ।
यस्ता गुणस्तरीय उत्पादनहरुमा सतप्रतिशत कच्चापदार्थ नेपालकै प्रयोग गर्दै आएको उद्योगले जनाएको छ । उद्योगले प्रयोगमा ल्याउने कच्चापदार्थहरु ९५ प्रतिशतभन्दा बढी नेपालमै उपलब्ध हुने भएकाले विगतमा नेपालवाट भारत निकासी हुने गिटी, बालुवा र ढुङालाई नेपालमै प्रयोगमा ल्याएर त्यसबाट विभिन्न वस्तुहरु उत्पादन र बजारीकरण गरी छिमेकी राष्ट्रमा निकासीगर्दा देशलाई नै बढी फाइदा हुने उद्योगले जनाएको छ ।
‘यस्तो अत्याधुनिक उद्योगलाई सरकारले खासै वास्ता गरेको छैन । सरकारले आफुले निर्माण गरिरहेको सडक, पुल जस्ता भौतिक संरचनामा पनि यस्तो गुणस्तरिय उत्पादनको प्रयोग गरेको छैन’, कम्पनीका अध्यक्ष मनिष रुंगटाले बताए ।
उद्योगको उत्पादन क्षमता धेरै भएको कारण नेपालको मात्र बजारले नपुग्ने अवस्था आएपछि भारत, भुटान र बंगलादेशमा निकासी गर्ने सोच बनाएको जनाएको छ ।
‘नेपाल सरकारले यी उत्पादनहरुको गुणस्तरका बारेमा कुनै निचोड निकालेको छैन । तर, यी उत्पादनहरु भारतमा निकासीको लागि धेरै नै ठूलो सम्भावना रहेको छ । भारतमा यस्ता उत्पादनहरु टायल सरहकै मूल्यमा बेच्न सकिने अवस्था छ’, सञ्चालन राजेश अग्रवाल बताउँछन् ।
सरकाले यसको मूल्यांकनमा समन्वय गरेर वातावरण सहज बनाएमा भारतको उत्तरप्रदेश, विहार, दिल्लीदेखि बंगलादेशसम्म समेत निकासी गर्न सकिने अध्यक्ष रुंगटाको भनाइ छ ।
हाल उद्योगले पेभर्क, ब्लक, इँटा, कर्बस्टोन, होलोब्लक उत्पादन गरिरहेको छ । निर्माण सामाग्री बनाउने नेपालमै पहिलो उद्योगको रुपमा रहेको एसियनले अहिले दैनिक ५०० टन उत्पादन गरिरहेको छ । उद्योगले मासा नामक जर्मन प्लान्ट जडान गरेको छ । मासा विश्वको ब्लक उत्पादन गर्ने उपकरण बनाउने कम्पनी मध्ये सबै भन्दा राम्रो प्रविधि प्रयोग गर्ने कम्पनी हो ।
मासाले नेपालको कम्पनी निगरानीको लागि ३६ ओटा क्यामेराहरु जडान गरेको छ । त्यसबाट प्रत्येक दिनको कामको निगरानी जर्मनीबाटै हुने गरेको छ । उद्योगमा लाग्ने सम्पूर्ण कच्चापदार्थहरुको आधुनिक ल्यावमा टेष्ट हुन्छ । त्यसपछि त्यो रिपोर्ट जर्मनी पठाइन्छ । ठीक छ भन्ने जानकारी आएपछि मात्र ती कच्चापदार्थहरु उत्पादनमा प्रयोग गरिने उद्योगले जनाएको छ ।
कम्प्रेसिव स्ट्रेन्थ भएका वस्तुहरुबाट पार्किङ, सडक, आँगन, गोदाम, मल, व्यापारिक भवन, होटल-रिसोर्टहरुको बाहिर प्रयोग गर्न सकिने छ । एसियनको उत्पादित ब्लकहरु प्रयोगबाट सडक निर्माण गर्न सकिएमा कम्तीमा २० देखि २५ वर्ष ढुक्क हुने उद्योको दावी छ ।
उद्योगबाट उत्पादित बस्तुहरुको ‘कम्प्रेसिव स्र्टेन्थ’ स्थानिय मेसिन र फर्माबाट बन्ने अन्य वस्तुहरुको भन्दा तुलनात्मक रुपमा कम्तिमा ५ देखी ६ गुणा बढी भएकोले मूल्य केहि प्रतिशत बढी भएको कम्पनीको भनाई छ ।