काठमाडौं । सरकारले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयरगिभर) पठाउने भएको छ ।
मंगलबार वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै ८०० जना केयरगिभरका लागि आवेदन माग गरेको हो । कुल कोटामा ६० प्रतिशत महिलाका लागि छुट्याइएको छ ।
८०० जनामध्ये पहिलो चरणमा ५०० जना पठाइने छ । त्यसपछि इजरायलको मागको आधारमा थप ३०० जनालाई पठाउन सकिने विभागले जनाएको छ ।
इच्छुक आवेदकले आजको २१ दिन भित्र अनलाइन मार्फत आवेदन दिनुपर्नेछ । आवेदक कम्तीमा २५ वर्ष पूरा भई४५ वर्ष ननाघेको, कम्तीमा १.५ मिटर उचाइ, ४५ किलोग्राम तौल भएको, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा प्लस टु वा सो सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने छ ।
साथै, नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभर सम्बन्धी ३ महिनाको तालिम लिएको, ब्रिटिस काउन्सिलबाट लिइएको फाउण्डेशन इंग्लिस टेष्ट (फेईटी) को कम्तीमा ए २ लेभल पास गरेको हुनुपर्नेछ ।
छनोट हुने कामदारलाई सुरुमा १ वर्षको लागि पठाइने छ भने करार अवधि ५ वर्षको रहने छ । उनीहरूले मासिक करिब २ लाख १० हजार रुपैयाँ (५८८० सेकेल) पारिश्रमिक पाउने छन् ।