बोर्ड अध्यक्षमा २ जनाको मात्रै नाम सिफारिस गर्न नमिल्ने महान्यायाधिवक्ताको राय, दियो दुई विकल्प

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि दुई जनाको मात्र नाम सिफारिस गर्न नमिल्ने राय दिएको छ ।

महान्यायाधिवक्ता दिनमणि पोखरेलले धितोपत्र ऐनको व्यवस्था अनुसार अध्यक्ष छनोटका लागि दुई जनाको मात्रै नाम सिफारिस गर्न नमिल्ने सुझाव दिएका हुन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा बनेको समितिले बोर्ड अध्यक्षका लागि ५ जना सर्टलिस्ट गरेको थियो । ती मध्ये सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले असार २ गते अन्तर्वार्ता तथा प्रस्तुति दिएका थिए । तर, कृष्ण बहादुर कार्की, डा. नवराज श्रेष्ठ र चिरञ्जीवि चापागाईं अनुपस्थित भएका थिए । उनीहरूलाई फेरि असार ५ गते बोलाइएकोमा फेरि पनि नगएपछि  समितिले प्रक्रिया कसरी अगाडि बढाउने भनेर महान्यायाधिवक्तासँग राय मागेको थियो ।

महान्यायाधिवक्ता कार्यालयले अब बोर्ड अध्यक्षका लागि दुई विकल्प दिएको बताइएको छ । पहिलो, धितोपत्र ऐनको व्यवस्था अनुसार कम्तीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था रहेकाले अब समितिले कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने महान्याधिवक्ताको सुझाव छ ।

दोस्रो विकल्पमा अध्यक्ष छनोट प्रक्रिया नै रद्द गर्न सुझाव दिएको छ । कार्यालयले अध्यक्ष छनोट समितिले अब यी दुई मध्ये जुनसुकै विकल्प अपनाउन सक्ने सुझाव दिएको छ ।

स्वार्थ समूहहरुको चलखेल र राजनीतिक दबाबका कारण बोर्ड नेतृत्व छनोट जटिल बन्दै गएको छ । तत्कालीन अध्यक्ष रमेश कुमार हमालको कार्याकाल सर्किसँगै पुसदेखि बोर्ड नेतृत्वविहीन छ ।

हिमालय ऊर्जाले १०० प्रतिशत हकप्रदका लागि तोक्यो बुकक्लोज Read Previous

हिमालय ऊर्जाले १०० प्रतिशत हकप्रदका लागि तोक्यो बुकक्लोज

बजेटको पक्षमा मतदान गर्न एमाले, माओवादी र एसको ह्वीप Read Next

बजेटको पक्षमा मतदान गर्न एमाले, माओवादी र एसको ह्वीप