रुसबाट तेल आयातमा भारतले बनायो नयाँ रेकर्ड, सस्तोमा पाएपछि धमाधम ल्याउँदै

काठमाडौं । भारतले रुसबाट हुने तेल आयातमा नयाँ रेकर्ड बनाएको छ । छुट सुविधाको फाइदा उठाउँदै भारतले सन् २०२४ को मे महिनामा रुसबाट हालसम्मकै धेरै तेल आयत गरेको हो ।

आयल प्राइसका अनुसार भारतले मे महिनामा रुसबाट दैनिक करिब २१ लाख ब्यारेल तेल आयात गरेको छ । यो रुसबाट कुनै पनि महिनामा भएको सबैभन्दा धेरै आयात हो ।

चीनबाट मागमा कमी आएपछि रुसले तेलमा डिस्काउन्ट बढाउँदै गएको छ । त्यसको फाइदा उठाउँदै भारतको तेल आयात ऐतिहासिक उचाइमा पुगेको रोयटर्सले उल्लेख गरेको छ ।

गत महिना भारत विश्वको तेस्रो ठूलो तेल आयातकर्ता बनेको छ । यस्तै, भारतमा रुसी तेलको हिस्सा ४१ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ ।

मेमा अप्रिलको तुलनामा रुसी तेल आयात १४.७ प्रतिशत र अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.९ प्रतिशतले बढेको हो ।

अप्रिलको तुलनामा मेमा भारतको तेल आयात समग्रमा ५.६ प्रतिशतले बढेर प्रतिदिन ५१ लाख ब्यारेल पुगेको छ ।

यसैबीच, साउदी अरेबियाबाट हुने आपूर्ति भने १० महिनाकै न्यून विन्दुमा झरेको छ । साउदी अरामकोले मे महिनामा मूल्य बढाएपछि भारतको आयात घटेको हो ।

सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेन माथि आक्रमण गरेपछि अमेरिका र युरोपेली देशहरुले रसियामाथि आर्थिक नाकाबन्दी लगाएका छन् । तर, रुसले छुट सुविधा दिँदै भारत र चीनमा तेल निर्यात बढाएको थियो ।

त्यसयता भारतका रिफाइनरहरुले रुसी तेलको आयात बढाउँदै आएका छन् । साथै, मध्य पूर्वका क्षेत्रहरुबाट समान ग्रेडका तेलहरु महँगो रहेका कारण पनि रुसी तेलको आपूर्ति भारतमा बढेको हो । रुसले भने भारतलाई छुटसहित तेल उपलब्ध गराउँदै आएको छ ।

निर्जीवन बीमा व्यवसायमा झिनो सुधार, शिखरलाई पछ्याउँदै सगरमाथा लुम्बिनी Read Previous

निर्जीवन बीमा व्यवसायमा झिनो सुधार, शिखरलाई पछ्याउँदै सगरमाथा लुम्बिनी

कृषि प्रवद्र्धन गर्न नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनी बीच समझदारी Read Next

कृषि प्रवद्र्धन गर्न नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनी बीच समझदारी