निर्जीवन बीमा व्यवसायमा झिनो सुधार, शिखरलाई पछ्याउँदै सगरमाथा लुम्बिनी

काठमाडौं । निर्जीवन बीमा व्यवसायमा झिनो सुधार देखिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार गत वर्षको जेठको तुलनामा चालु आवको सोही अवधिमा बीमा शुल्क संकलन १.०३ प्रतिशतले बढेको हो ।

प्राधिकरणका अनुसार चालु वर्षको ११ महिना (साउन–जेठसम्म) १४ निर्जीवन र ३ निर्जीवन लघु बीमा गरी १७ कम्पनीले कुल ३६ अर्ब ५६ करोड ९१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा साढे ३७ करोड रुपैयाँ धेरै हो । गत वर्ष जेठसम्म निर्जीवन बीमा कम्पनीले कुल ३६ अर्ब १९ करोड ३२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।

जेठसम्म १४ निर्जीवन बीमा कम्पनीले कुल ३६ अर्ब ३२ अर्ब ९९ लाख रुपैयाँ र ३ निर्जीवन लघुबीमा कम्पनीले २३ करोड ९१ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । जेठ महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरूले ३ अर्ब ५० करोड ३ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । यस महिना कम्पनीहरूले २ लाख ३४ हजार ३४४ वटा बीमालेख जारी गरेका छन् ।

पछिल्लो समय अर्थतन्त्रमा क्रमशः सुधार देखिन थालेसँगै निर्जीवन बीमा व्यवसायमा पनि सुधार आएको हो । चालु आवको माघसम्म घट्दो क्रममा रहेको निर्जीवन बीमा व्यवसायमा फागुनदेखि झिनो सुधार देखिन थालेको हो ।

सरकार र नेपाल राष्ट्र बैंकको प्रयास र नीतिगत लचकताका कारण पछिल्ला महिनाहरूमा अर्थतन्त्र चलायमान हुँदै गएको छ । जसको सकारात्मक प्रभाव बीमा व्यवसायमा पनि देखिएको हो ।

अर्थतन्त्रमा आएको संकुचनका कारण चालु वर्षको सुरूदेखि नै निर्जीवन बीमा व्यवसायमा धक्का लागेको थियो । मुख्यगरी निर्जीवन बीमा व्यवसायको एकतिहाई हिस्सा ओगट्ने सवारीसाधनको बिक्रीमा भारी गिरावट आउँदा व्यवसायमा ठूलो असर परेको हो । त्यस्तै, पूर्वाधार निर्माण सुस्त हुँदा पनि असर परेको देखिन्छ ।

शिखरलाई पछ्याउँदै सलिको

निर्जीवन बीमा व्यवसायमा शिखर इन्स्यारेन्सले आफ्नो वर्चश्व कायमै राखेको छ । गत वर्ष साविकका १० बीमा कम्पनी मर्ज भई ५ ठूला कम्पनी बनेका थिए । तीमध्ये ३ वटाको चुक्ता पूँजी शिखरकोभन्दा धेरै छ । तर, मर्जरबाट सिनर्जी प्राप्त गर्न नसक्दा ती कम्पनीले व्यवसायमा शिखरलाई उछिन्न सकेको देखिँदैन ।

मर्जपछि बनेका कम्पनीहरू व्यवसायमा शिखरभन्दा निकै पछि देखिन्छन् । जेठ मसान्तसम्म शिखरले ४ अर्ब ८९ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । यो शिखरलाई पछ्याइरहेको सगरमाथा लुम्बिनीकोभन्दा ५० करोड रुपैयाँ धेरै हो ।

गत वर्षको सोही अवधिको तुलनामा चाल आवमा शिखरको व्यवसाय १३ करोड रुपैयाँले बढेको छ । गत वर्ष जेठसम्म शिखरले ४ अर्ब ७६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । यस वर्ष जेठसम्म शिखरले कुल २ लाख ८५ हजार ७३२ वटा बीमालेख जारी गरेको छ ।

समीक्षा अवधिमा शिखरको व्यवसाय अन्य तीन कम्पनीको कुल व्यवसायभन्दा धेरै हो । जेठसम्म नेशनल, नेपाल र राष्ट्रिय बीमा कम्पनीले जम्मा ३ अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

साविकको सगरमाथा र लुम्बिनी इन्स्योरेन्स मर्ज भई बनेको सगरमाथा लुम्बिनी (सलिको)ले शिखरलाई पछ्याएको छ । तर, उछिन्न सकेको छैन । यस अवधिमा सलिकोले ४ अर्ब २९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

यस्तै, साविकको सिद्धार्थ र प्रिमियर मर्ज भई बनेको सिद्धार्थ प्रिमियर पनि व्यवसायमा शिखरभन्दा निकै पछि छ । जेठसम्म सिद्धार्थ प्रिमयरले ३ अर्ब ६६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यो शिखरकोभन्दा १ अर्ब २३ करोड रुपैयाँ कम हो ।

त्यस्तै, मर्ज भई बनेका आइजीआई प्रुडेन्सियल, हिमालयन एभरेष्ट र सानिमा जीआइसी व्यवसायमा शिखरको छेउछाउ समेत पुग्न सकेका छैनन् । जेठसम्म आइजीआई प्रुडेन्सियलले ३ अर्ब २१ करोड, हिमालयन एभरेष्टले ३ अर्ब २३ करोड बीमाशुल्क संकलन गरेका छन् । सानिमा जीआइसीले शिखरको तुलनामा आधाभन्दा कम प्रिमियम संकलन गरेको छ । जेठसम्म यसले २ अर्ब २१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

मर्जरबाट पूँजीको आकार बढाए पनि सिनर्जी प्राप्त गर्न नसक्दा अन्य कम्पनीहरूले शिखरलाई टक्कर दिन नसकेका हुन् ।

जेठसम्म नेकोले २ अर्ब ८८ करोड, युनाइटेड अजोड २ अर्ब ३८ करोड, एनएलजी, २ अर्ब २६ करोड, ओरेन्टल १ अर्ब ७५ करोड, प्रभु १ अर्ब ५६ करोड, राष्ट्रिय बीमा कम्पनी १ अर्ब ५३ करोड, नेपालले १ अर्ब ४० करोड बीमा शुल्क संकलन गरेको छ । समीक्षा अवधिमा नेशनल इन्स्योरेन्सले सबैभन्दा कम १ अर्ब १ करोड रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेको छ ।

लघुबीमाको हिस्सा १ प्रतिशतभन्दा कम

निर्जीवन बीमा व्यवसायमा लघुबीमा कम्पनीहरूको हिस्सा नगन्य देखिएको छ । गतवर्षदेखि संचालनमा आएका ३ लघुबीमा कम्पनीले ११ महिनामा जम्मा २३ करोड ९१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यो कुल निर्जीवन बीमा व्यवसायको ०.६५ प्रतिशत मात्रै हो ।

नयाँ योजना ल्याउन नसक्दा लघुबीमाले अपेक्षित रुपमा व्यवसाय बढाउन नसकेको देखिएको छ । जेठसम्म नेपाल माइक्रो इन्स्योरेन्सले ८ करोड ८३ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ७ करोड ४९ लाख, स्टार माइक्रो इन्स्योरेन्सले ५ करोड ३७ लाख र ट्रष्ट माइक्रो इन्स्योरेन्सले २ करोड २० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

नागढुङ्गा सुरुङमार्गको ७६ प्रतिशत काम सकियो, धमाधम फ्लाइओभर निर्माण हुँदै Read Previous

नागढुङ्गा सुरुङमार्गको ७६ प्रतिशत काम सकियो, धमाधम फ्लाइओभर निर्माण हुँदै

रुसबाट तेल आयातमा भारतले बनायो नयाँ रेकर्ड, सस्तोमा पाएपछि धमाधम ल्याउँदै Read Next

रुसबाट तेल आयातमा भारतले बनायो नयाँ रेकर्ड, सस्तोमा पाएपछि धमाधम ल्याउँदै