बैंकमा पैसा थुप्रिँदा सीडी रेसियो ८० प्रतिशतभन्दा तल झर्यो

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता कायम हुँदा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८० प्रतिशतभन्दा तल झरेको छ

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत बुधबार समग्रमा बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो ७९.८३ प्रतिशतमा झरेको हो ।

बैंकिङ प्रणालीमा एकोहोरो निक्षेप बढिरहने तर कर्जाको माग बढ्न नसक्दा सीडी रेसियो सीमाभन्दा निकै तल आएको हो । राष्ट्र बैंकले सीडी रेसियो ९० प्रतिशत तोकेको छ ।

अर्थतन्त्रमा आएको संकुचन र व्यवसायीको मनोवल बढ्न नसक्दा ब्याजदर सस्तिँदा समेत कर्जाको माग बढ्न सकेको छैन । साथै, बैंकहरू पनि कर्जा विस्तारभन्दा असुलीमा केन्द्रित हुँदा ऋण लगानी हुन सकेको छैन ।

बैंकिङ प्रणालीमा अधिक तरलता कायम हुँदा त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंक र बैंकहरुलाई हम्मेहम्मे परेको छ । बैंकहरूले स्थायी निक्षेप सुविधा प्रगोग गर्दै ३ प्रतिशत ब्याजदरमै राष्ट्र बैंकमा पैसा राखिरहेका छन् भने राष्ट्र बैंकले हप्तैपिच्छे अर्बौं तरलता खिचिरहेको छ । अहिले बैंकिङ प्रणालीमा ६ खर्ब रुपैयाँ बढी तरलता कायम छ ।

चालु आवको जेठसम्म बैंकिङ प्रणालीमा साढे ४ खर्ब रुपैयाँ निक्षेप थपिएको छ भने त्यसको आधा मात्रै अर्थात् सवा २ खर्ब रुपैयाँ मात्रै कर्जा लगानी भएको छ । नेपाल राष्ट्र बैंकले चालु आवमा निजीक्षेत्र तर्फ ११.५ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखे पनि हालसम्म ४.७ प्रतिशत मात्रै विस्तार भएको छ । यसले चालु आवमा कर्जा विस्तारको लक्ष्य समेत नभेटिने देखिन्छ ।

 

निफ्राबाट बाहिरिँदै एनआइसी एसिया, प्रतिकित्ता १०१ रुपैयाँमै सेयर बेच्दै Read Previous

निफ्राबाट बाहिरिँदै एनआइसी एसिया, प्रतिकित्ता १०१ रुपैयाँमै सेयर बेच्दै

तयार भयो बाह्रबिसे सबस्टेसन, १०२ मेगावाटको मध्य भोटेकोसीको बिजुली जोड्न सकिने Read Next

तयार भयो बाह्रबिसे सबस्टेसन, १०२ मेगावाटको मध्य भोटेकोसीको बिजुली जोड्न सकिने