काठमाडौं । मंसिर १८ गतेदेखि लगातार उकालो लागेको सेयर बजार यो साता सुरुदेखि नै ओरालो लागेको छ ।
आठ दिनमा ६१ अंकले बढेको बजार आइतबार करिब ५ अंकले घटेको थियो भने आज दोहोरो अंकको गिरावट आएको छ । आज सूचकसँगै कारोबार रकम पनि ह्वात्तै घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २८ करोडले घटेको छ ।
सेयर बजार मापक सूचक नेप्से १३.७५ अंकले घटेर ११५४.११ विन्दुमा आइपुगेको छ । आज १६६ कम्पनीको ४० करोड ७९ लाख ५५५ रुपैयाँ बराबरको कारोबार भएको छ । १३ लाख ७१ हजार १३४ कित्ता सेयर किन बेच भएका छन् ।समग्र बजार पूँजीकरण १६ अर्बले घटेर १४ खर्ब ६६ मा आइपुगेको छ।
कारोबार भएका १२ वटै समूहको सूचक ओरालो लागेका छन् । आज निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै १७२.०९ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा आजपनि एनएमबी बैंकको सेयर नै शीर्ष स्थानमा रह्यो । यसको ४ करोड ५६ लाख ६० हजार ८२० रुपैयाँको कारोबार भएको छ ।
आज दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ५.४५ प्रतिशतले बढेको छ भने हिमालयन पावर पार्टनको सेयर मूल्य सबैभन्दा धेरै ९.४९ प्रतिशतले घटेको छ ।