काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्से)ले पूर्ण स्वचालित अनलाइन प्रणाली प्रयोगमा ल्याएको १ वर्षभन्दा बढी पूरा भइसकेको छ ।
सेयर बजारमा कायापलट हुने विश्वासकासाथ नेप्सेले निकै तामझामले प्रयोगमा ल्याइएको यो प्रणालीले लगानीकर्ताको मन भने खासै जित्न सकेको छैन । यो लगानीकर्ताको लागि हात्ती आयो हात्ती आयो फूस्स जस्तै भएको छ ।
स्वचालित अनलाइन प्रणाली संचालनमा आएको १३ महिना बितिसक्दासम्म पनि १ प्रतिशत कारोबारीले मात्र अनलाइन प्रणालीको प्रयोग गरेर सेयर किनबेच गर्ने गरेका छन् । अझैपनि ९९ प्रतिशत कारोबारीहरुले ब्रोकरको बाटै (अफलाईन) कारोबार गर्ने गरेका छन् ।

नेप्सेले आज (मंसिर ३० गते) सार्वजनिक गरेको तथ्यांकअनुसार कूल १३ लाख ५८ हजार ७२७ जना लगानीकर्ता मध्ये १.२२ प्रतिशत अर्थात् १६ हजार ५७३ जनाले मात्र अनलाईन प्रणाली मार्फत कारोबार गर्ने गरेका छन् ।
अझैपनि १३ लाख ४२ हजार १५४ जना अर्थात् ९८.७८ प्रतिशत लगानीकर्ताले ब्रोकरबाटै कारोबार गर्ने गरेको तथ्यांकले देखाएको छ ।
तीन महिना अवधिमा १ हजार ४७३ मात्र अनलाईन प्रयोगकर्ता थपिएका छन् । नेप्सेले भदौमा सार्वजनीक गरेको विवरणमा १५ हजार १०० जना अनलाइन प्रयोगकर्ता रहेका थिए ।

सेयर कारोबार गर्ने ५० ब्रोकरमध्ये २ वटा ब्रोकरमा मात्रै अनलाईन प्रयोगकर्ताको सङ्ख्या १ हजारभन्दा बढी रहेको छ । यस्तै ९ वटा ब्रोकरमा अनलाइन प्रयोगकर्ताको संख्या ५ सयभन्दा बढी रहेका छन् भने २६ वटा ब्रोकरमा ५ सयभन्दा कम रहेका छन् । १३ वटा ब्रोकरमा अनलाइन प्रयोगकर्ताको संख्या १ सयभन्दा कम रहेका छन् ।
नेप्सेका अनुसार सबैभन्दा धेरै अनलाइन प्रयोगकर्ता ब्रोकर नं. ३४ भिजन सेक्यूरिटीजमा रहेका छन्। सो ब्रोकरबाट कारोबार गर्ने कूल १८ हजार ७०१ लगानीकर्तामध्ये १ हजार ५३३ लगानीकर्ताहरुले अनलाईन प्रणाली प्रयोग गरिरहेका छन्।
ब्रोकर नं. ८ आशुतोष ब्रोकरेज एण्ड सेक्यूरिटीजमा अनलाईन प्रणाली प्रयोग गर्ने लगानीकर्ता सबैभन्दा कम छन्। सो ब्रोकरबाट कारोबार गर्ने कूल ५७ हजार ८२८ लगानीकर्ताहरुमध्ये ४९ जनाले मात्र अनलाईन प्रणालीबाट सेयर कारोबार गर्ने गरेका छन् ।

नेप्सेले गत वर्षको कात्तिक २० गतेबाट अनलाइन प्रणालीबाट कारोबार शुरु गरेको थियो । अनलाइन सेयर कारोबार शुरु भएपछि सेयर बजारले गति लिनुको साथै लगानीकर्ता पनि बढ्ने अपेक्ष गरिएपनि त्यस्तो हुन सकेको छैन् ।
नेप्सेले प्रयोगमा ल्याएको पूर्ण स्वचालित अनलाइन प्रणाली लगानीकर्ता मैत्री नभएको र झन्झटिलो प्रक्रिया रहेकाले यसप्रति आकर्षित हुन नसकेका हुन् ।
अनलाईन शेयर कारोबारीको संख्या बढ्न नसक्नुमा कतियप लगानीकर्ताले यसको प्रयोग गर्ने तरिका नजान्नु, न्यूनतम २५ प्रतिशत रकम ब्रोकरको खातामा अग्रिम जम्मा गर्नुपर्ने व्यवस्थाका, बेला बेलामा नेप्सेको अनलाईनमा आउनु, अपेक्षा अनुसार बजारले गति लिन नसक्नु जस्ता कारण रहेका छन् ।