काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरू व्यक्तिगत आवासीय कर्जा (२ करोड रुपैयाँसम्म) लगानीमा आक्रमक बनेका छन् । घरजग्गामा सरकार र नेपाल राष्ट्र बैंकको नीतिगत लचकता पछि बैंकहरू यस क्षेत्रमा कर्जा विस्तारमा आक्रमक बन्न थालेका हुन् ।
आर्थिक मन्दीका कारण बजारमा उपभोग्य वस्तुको माग नबढ्दा उत्पादनमूलक, कृषि, व्यापार, हायर पर्चेज लगायत क्षेत्रमा कर्जाको माग छैन । तर, मन्दीकै बीच सेयर, घरजग्गा, ट्रम लोन भने बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
बैंकिङ प्रणालीमा तरलता थुप्रिरहँदा लगानी बढाउनुपर्ने दबाबमा रहेका बैंकहरूले घरजग्गामा गरिएको नीतिगत लचकतासँगै ऋण विस्तारमा केन्द्रित हुन थालेका हुन् । अन्य कर्जाको तुलनामा घरकर्जाको जोखिमभार समेत कम भएकाले बैंकहरू ऋण लगानी गर्न इच्छुक देखिएका हुन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्षको १० महिना (साउन-वैशाख) आवासीय घर कर्जा लगानी ११.८ प्रतिशतले बढेको छ । चालु वर्षको साउनदेखि वैशाखसम्म मात्रै बैंक तथा वित्तीय संस्थाले ४१ अर्ब १९ करोड रुपैयाँ ऋण लगानी गरेका छन् ।
गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल आवासीय कर्जा ३ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ रहेकोमा वैशाख मसान्त आइपुग्दा बढेर ३ खर्ब ८९ अर्ब ३२ करोड रुपैयाँ पुगेको हो ।
चालु आवमा बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत घरजग्गामा औसतमा मासिक ४ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । बैंकहरूले चालु वर्षको पहिलो महिना साउनमा मात्रै ११ अर्ब २४ करोड आवासीय कर्जा लगानी गरेका थिए ।
त्यसैगरी, भदौमा ५ अर्ब ८३ करोड, असोजमा ९ अर्ब ६९ करोड, कात्तिकमा १ अर्ब ६८ करोड, मंसिरमा १ अर्ब ८ करोड, पुसमा ३ अर्ब १९ करोड, फागुनमा ३ अर्ब ८८ करोड, चैतमा २ अर्ब २८ करोड र वैशाखमा २ अर्ब ५७ करोड रुपैयाँ घरकर्जा लगान्ी गरेका छन् ।
घरजग्गा क्षेत्रमा बैंकको ऋण लगानी बढेसँगै कारोबार समेत बढेको छ । चालु आवको जेठमा २६ महिना यताकै धेरै ६१ हजार बढी घरजग्गा किनबेच भएको छ । डेढ वर्षदेखि सुस्ताएको घरजग्गा कारोबार पछिल्लो महिनाहरूमा क्रमशः बढ्न थालेको छ ।
यस कारण बढ्यो घरकर्जा लगानी
सरकारले पूँजीगत खर्च गर्न नसक्दा सडक लगायत ठूला पूर्वाधार निर्माण गति लिन नसके पनि मन्दीकै बीच ऋण लिएर घर बनाउने तथा किन्ने क्रम भने बढेको देखिन्छ ।
नियामक निकाय र सरकारले लिएको नीतिगत लचकताले आवासीय कर्जाको माग बढाएको बैंकरहरू बताउँछन् । सरकारले कित्ताकाट खुकुलो बनाएको छ भने नेपाल राष्ट्र बैंकले घरजग्गा कर्जाको लगाएको अंकुश क्रमशः हटाउँदै लगेको छ ।
सरकारले २०७९ जेठदेखि भू-उपयोग नियमावली लागू गर्दै कित्ताकाटमा कडाइ गरेको थियो । त्यसपछि घरजग्गाको व्यवसायमा चरममन्दी आउँदा समग्र अर्थतन्त्रमै समस्या आएको भन्दै सरकारले गत साउनदेखि यथास्थितिमै कित्ताकाट खुला गरेको थियो । त्यसपछि घरजग्गाको कारोबार र यस क्षेत्रमा जाने कर्जा दुवै बढेको देखिन्छ ।
त्यस्तै, नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमार्फत व्यक्तिगत घरकर्जाको सीमा बढाउनुको साथै जोखिम भारसमेत घटाएको थियो । राष्ट्र बैंकले व्यक्तिगत आवासीय कर्जाको सीमा डेढ करोड रुपैयाँबाट बढाएर २ करोड रुपैयाँ कायम गरेको थियो ।
त्यसैगरी, राष्ट्र बैंकले असोजमा घरजग्गा धितो कर्जाको सीमा पनि बढाएको थियो । ५० लाख रुपैयाँसम्म व्यक्तिगत आवसीय कर्जा प्रवाह गर्दा ‘लोन टु भ्यालु रेसियो’ ५० प्रतिशत पुर्याएको थियो । त्यसअघि लोन टु भ्यालु रेसियो काठमाडौं उपत्यकामा ३० प्रतिशत र उपत्यका बाहिर ४० प्रतिशत थियो ।
राष्ट्र बैंकले रियल ई–स्टेट कम्पनीलाई दिइने कर्जाको जोखिम भार १०० प्रतिशतमा झारेको थियो । त्यस्तै, पहिलो त्रैमासिक समीक्षा मार्फत रियल ई–स्टेट कर्जाको जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशतमा झारेको छ । साथै, नेपाल सरकारबाट स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनीरपरियोजनाहरूलाई आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा यस्तो अनुपात बढीमा ६० प्रतिशतसम्म कायम गर्न सक्ने व्यवस्था गरेको थियो । त्यससअघि यस्तो सीमा ४० प्रतिशत थियो ।
त्यस्तै, राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत घरजग्गा कर्जाको ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याएको थियो । यस व्यवस्थाले घर कर्जा लिनेलाई सहज बनाएको छ । अहिले ऋणीले आफ्नो आम्दानीको ७० प्रतिशतसम्म रकम घर कर्जाको किस्ता तिर्न पाउँछन् ।
अहिले बैंकिङ प्रणालीमा ५ खर्ब बढी लगानीयोग्य रकम (तरलता)छ । अन्य क्षेत्रमा कर्जाको माग आएपछि नीतिगत लचकताको फाइदा उठाउँदै बैंकहरूले घरजग्गा क्षेत्रमा ऋण लगानी गर्न आक्रमक हुन थालेका छन् । कात्तिक यता ब्इाजदर पनि लगातार घट्दो क्रममा छ । ब्याजदर सस्तिँदै जाँदा ऋण लिएर घरजग्गा किन्नेहरू पनि बढ्न थालेका छन् । जसले बैंकमा यस्तो कर्जाको माग बढेको छ ।
यस्तै, बैंकहरू पनि घर कर्जा विस्तार गर्न सस्तो ब्याजदरका स्कीम ल्याएरै ऋण दिन प्रतिस्पर्धामा उत्रिएका छन् । केही बैंकले त एकल अंकको ब्याजदरमै घरकर्जा उपलब्ध गराउन थालेका छन् ।