काठमाडौं । अमेरिकी बहुराष्ट्रिय टेक्नोलोजी कम्पनी एनभिडिया विश्वकै ठूलो मूल्यवान कम्पनी बनेको छ ।
एनभिडियाले माइक्रोसफ्टलाई उछिन्दै कुल बजार मूल्यका आधारमा विश्वकै ठूलो मूल्यवान कम्पनी बनेको हो । एनभिडिया दुई साताअघि एप्पललाई उछिन्दै विश्वकै दोस्रो मूल्यवान कम्पनी बनेको थियो ।
मंगलबार एनभिडियाको सेयर मूल्य ४.६० डलर बढेर प्रतिकित्ता १३५.५८ डलर पुगेको छ । यससँगै कम्पनीको बजार पूँजीरकण ३.३४ ट्रिलियन डलर पुगेको छ । यो विश्वका कुनै पनि कम्पनीको हालसम्मकै धेरै हो ।
दोस्रो स्थानमा झरेको माइक्रोसफ्ट बजार पूँजीकरण ३.३१ ट्रिलियन डलर रहेको छ । मंगलबार माइक्रोसफ्टको सेयर मूल्य ०.४५ प्रतिशत घटेर ४४६.३४ डलरमा झरेको छ । विश्वको तेस्रो ठूलो कम्पनी एप्पलको पूँजीकरण ३.२९ ट्रिलियन छ ।
सन् २०२३ को मेमा एनभिडियाको पूँजीकरण एक ट्रिलियन अमेरिकी डलर पुगेको थियो । गत फेब्रुअरीमा अल्फाबेट र अमेजनलाई पछि पार्दै यसको बजार मूल्य २ ट्रिलियन पुगेको थियो ।
एनभिडिया एक टेक्नोलोजी कम्पनी हो । यसले सेमीकन्डक्टर चिप तथा सफ्टवेयर निर्माण गर्दछ । पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को विकास बढ्दै जाँदा एनभिडियाको फ्ल्यागसिप एच १०० चिपको माग बजारमा उच्च छ । जसकारण कम्पनीको सेयर मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ । एआई चिपको बजारमा एनभिडियाको हिस्सा ७० देखि ९५ प्रतिशतको बीचमा रहेको छ ।