भारतको कर्पोरेट मामिला सम्बन्धी मन्त्रालयले लामो समय पछि एउटा जानकारी अपलोड गर्यो । उक्त जानकारीका बमोजिम भारतीय केन्द्र सरकारका गृहमन्त्री एवं ‘अनियन्त्रित मिसाइल’ जस्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सहयात्री अमित शाहका छोरा जय शाहको व्यवसायीक कारोबारले मोदी र उनका बाबुको राजमा छलाङ मारेको जनाएको छ ।
जय शाह कुसुम फिनसर्व नाम गरेको कम्पनीका निर्देशक हुन् । आर्थिक वर्ष सन् २०१५ र १०१९ को बिचमा नरेन्द्र मोदीको नेतृत्वमा सरकार बनेपछि कुसुम फिनसर्वको कूल सम्पत्ति २४.६१ करोड भारुले बढेको छ । अचल सम्पत्ति २२.७३ करोड भारुले बढेको छ भने चल सम्पत्तिमा ३३.०५ करोड भारुको बढोत्तरी भएको छ ।

कम्पनीको कूल आयमा भने १ अर्ब १६ करोड ३७ लाख भारुको बढोत्तरी भएको छ । जय शाह गत अक्टुबर महिनामा भारतीय क्रिकेट कन्ट्रोल बोर्डको सचिव पनि बनेका छन् ।
भारतीय मिडियाहरुले जय शाहको कम्पनीको हालत सन् २०१६ अघि नाजुक रहेको र सन् २०१६ पछि कम्पनीको ऋण सुविधामा नाटकीय सुधार आएको जनाएका छन् । बिजेपी सरकारले वित्तिय विवरण नबुझउने कम्पनीहरुलाई कारवाही गर्ने बताए पनि जय शाहको कम्पनीले लगातार दुई वर्षसम्म कम्पनीको वित्तीय विवरण बुझाएको थिएन ।

यो वर्ष भाजपाले प्रचण्ड बहुमतका साथ चुनाव जितेको थियो । तर, चुनाव ताका जयको कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेको थिएन । गृहमन्त्री अमित शाहले गुजरातको गान्धीनगरबाट चुनाव जितेका हुन् । चुनाव सम्पन्न भएको करिब ३ महिना पछि कुसुम फिनसर्वको वित्तीय विवरण सार्वजनिक गरिएको हो ।
वित्तीय विवरण सार्वजनिक गरेपनि कम्पनीको व्यवसायीक प्रकृतिको बारेमा भने स्पष्ट पारिएको छैन । अहमदावादको कम्पनी रजिष्टार कार्यालयमा उक्त कम्पनीको बारेमा सोधपुछ गर्दा पनि कुनै जवाफ नआएको भारतीय मिडिया क्याराभानले जनाएको छ ।

तर, स्पष्ट रुपमा देखिएको कुरा के हो भने जुन जुन आर्थिक वर्षमा कम्पनीले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेर ती वर्षहरुमा कम्पनीले आफ्नो कारोबार अत्याधिक बढाएको छ । आर्थिक वर्ष २०१५ मा कम्पनीको कूल आय ३.२३ करोड भारु थियो ।
तर, आर्थिक वर्ष २०१९ सम्म कम्पनीको आय बढेर १ अर्ब १९ करोड ६१ लाख भारु पुगेको छ । यसैबीच कम्पनीको कूल सम्पत्ति पनि १ करोड २१ लाख भारुबाट बढेर २५ करोड ८३ लाख भारु पुगेको छ । सन् २०१४ मा कम्पनी २३ हजार ७ सय भारु नोक्सानीमा थियो ।

-एजेन्सी