असार भित्र कोपोमिसमा आबद्ध नहुने सहकारीको दर्ता खारेज हुने

काठमाडौं । सहकारी विभागले १ महिना (असार) भित्र सबै सहकारीहरूलाई एकीकृत व्यवस्थापन प्रणाली (कोपोमिस)मा आबद्ध हुन आग्रह गरेको छ ।

विभागले एक सूचना जारी गर्दै यसअघि पटक पटक कोपोमिसमा आबद्ध भई विवरण प्रविष्ट गर्न भने पनि त्यस नगरेकाले अब १ महिनाभित्र आबद्ध भइसक्न अल्टिमेटम दिएको हो ।

‘यस विभागबाट पटक पटक निर्देशन हुँदा समेत सबै सहकारी संघसंस्थाहरुले हालसम्म पनि उक्त प्रणालीमा आवद्द भई विवरण प्रविष्ट गरेको नदेखिएकोले १ महिनाभित्र अनिवार्य रुपमा कोपोमिस प्रणालीमा आबद्द भई तोकिए बमोजिमको विवरण प्रविष्ट गर्नुहुन जानकारी गराईन्छ’ विभागले भनेको छ ।

विभागले अब तोकिएको समय भित्र कोपोमिसमा आबद्ध नहुने सहकारीहरुको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ । ‘अन्यथा कानून बमोजिम दर्ता खारेजीसम्मको कारबाही गरिने छ,’ विभागले भनेको छ ।

सहकारी ऐन, २०७४ (संशोधन सहित, २०८०) को दफा ७३ को उपदफा १ (क) मा सबै सहकारीले विभागले तोकेको कोपोमिस प्रणालीमा अनिवार्य रूपमा आबद्ध भई विवरण प्रविष्ट गर्नुपर्ने व्यवस्था रहेको छ ।

साथै, सरकारले आगामी आर्थिक वर्ष २०८१(८२ को नीति तथा कार्यक्रममा समेत यस व्यवस्थालाई राखेको छ ।

सरकारले २०७५ देखि स्थानीय तह तथा प्रदेशबाट कोपोमिसको कार्यान्यन गर्न थालेको थियो । देशभर साढे ३४ हजार सहकारी सञ्चालनमा रहे पनि हालसम्म एकचौथाई सहकारी कोपोमिसमा आबद्ध भएका छैनन् ।

भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट Read Previous

भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

विनियोजन विधेयक अन्तर्गत तीन मन्त्रालयका शीर्षकमा छलफल सकियो Read Next

विनियोजन विधेयक अन्तर्गत तीन मन्त्रालयका शीर्षकमा छलफल सकियो