काठमाडौं । असार महिनाका लागि एक दर्जन वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । त्यस्तै, ३ बैंकले बढाएका छन् भने अरुले स्थिर राखेका छन् ।
चालु वर्षको कात्तिकदेखि लगातार महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै आएका बैंकहरूले असारमा पनि थप घटाएका हुन् । बैंकिङ प्रणालीमा पर्याप्त लगानी योग्य रकम (तरलता) थुप्रिए पनि कर्जाको माग नबढेपछि बैंकहरूले थप ब्याजदर घटाएका हुन् ।
बैंकिङ प्रणालीमा अहिले ५ खर्ब रुपैयाँ बढी तरलता छ । तर, कर्जा लगानी हुन नसकेपछि बैंकहरूले स्थायी निक्षेप सुविधा प्रयोग गर्दै ३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा राखिरहेका छन् । यस्तो अवस्थामा बैंकहरूले आफ्नो लागत घटाउन पनि निक्षेपको ब्याजदर घटाएका हुन् ।
जेठकोे तुलनामा असारमा वाणिज्य बैंकहरूले औसतमा व्यक्तिगत निक्षेपतर्फ ०.१२ प्रतिशत बिन्दु र संस्थागततर्फ ०.१६ प्रतिशत बिन्दुले घटाएका छन् । जेठमा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ७ प्रतिशत रहेकोमा असारमा घटेर ६.८८ प्रतिशतमा झरेको छ । त्यस्तै, संस्थागत मुद्दतीको औसत ब्याजदर जेठमा ५.८३ प्रतिशत रहेकोमा असारमा ५.६७ प्रतिशतमा झरेको छ ।
असारका लागि ११ वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् । जसमा ग्लोबल आइएमईले व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपको ब्याजदर १ प्रतिशत बिन्दुले घटाएको छ । त्यस्तै, एभरेष्टले व्यक्तिगतको ०.७५ प्रतिशत बिन्दु, कुमारी र लक्ष्मी सनराइजले ०.५० प्रतिशत बिन्दुले घटाएका छन् ।
त्यस्तै, प्राइम कमर्शियल, राष्ट्रिय वाणिज्य, एनआइसी एशिया, एनएमबी, सानिमा, सिटिजन्स र नेपाल एसबीआई बैंकले निक्षेपको ब्याजदर घटाएका छन् ।
असारका लागि हिमालयन बैंकले व्यक्तिगत तर्फ सर्वाधिक ०.७५ प्रतिशत बिन्दुले ब्याजदर बढाएको छ । हिमालयनले संस्थागत तर्फ पनि सर्वाधिक ०.५० प्रतिशत बिन्दुले ब्याजदर बढाएको छ । त्यस्तै, माछापुच्छ्रे र नबिल बैंकले समान ०.२५ प्रतिशत बिन्दुले ब्याजदर बढाएका छन् ।
असारमा सिद्धार्थ, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल र कृषि विकास बैंकले भने जेठकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
असारमा वाणिज्य बैंकहरू बीच निक्षेपको ब्याजदर २.५८ प्रतिशतसम्म फरक भएको छ । हिमालयनले सर्वाधिक ८.२५ प्रतिशत र कृषि विकासले सबैभन्दा कम ५.६६ प्रतिशत ब्याजदर दिने भएको छ । वाणिज्य बैंकहरूले ब्याजदर घटाएको यो लगातार नवौं महिना हो ।
बैंकिङ प्रणालीमा अधिक तरलता हुँदाहुँदै पनि असोजमा बैंकहरूले अर्को बैंकमा रहेको निक्षेप खोस्न ब्याजदर बढाएका थिए । तर, महँगो ब्याजमा उठाएको निक्षेप कर्जा लगानी गर्न नसकेपछि बैंकको उल्टो लागत बढेको थियो । अर्थतन्त्रमा आएको संकुचनका कारण कर्जाको माग बढ्न नसकेपछि बैंकहरूले बाध्य भएर ब्याजदर घटाउन थालेका हुन् ।
साउनदेखि नेपाल बैंकर्स संघले ब्याजदरमा रहेको भद्र सहमती तोडेको थियो । त्यस यता बैंकहरूलाई आफूखुसी स्वतन्त्र रुपमा निक्षेपको ब्याजदर तोक्दै आएका छन् । साउनअघि संघले ब्यादरमा हस्तक्षेप गर्दा सबै बैंकको एउटै ब्याजदर हुने गरेको थियो ।