यी २८ जिल्लामा अब सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । सरकारले २८ वटा जिल्लामा आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सूचना जारी गर्दै आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको जानकारी गरिएको हो ।

गत २४ जेठको मन्त्रिपरिषद्को बैठकले पहिलो चरणमा २८ जिल्लामा आगामी आर्थिक वर्षको सुरुदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्ने निर्णय गरेको थियो । विभागले सोही निर्णय कार्यान्वयन हुन लागेको जानकारी गराएको हो ।

यस अनुसार अब २८ जिल्लाका नागरिकले समाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र बनाएकै हुनुपर्नेछ ।

विभागका अनुसार साउनदेखि झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रोतहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, मकवानपुर, चितवन, कास्की, तनहुँ, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुरका नागरिकलाई राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएकाे छ ।

विभागले हालसम्म राष्ट्रिय परिचयपत्र नबनाएका सेवाग्राहीलाई आफ्नो वडासँग समन्वय गरी सम्बन्धित जिल्ला प्रशासन/इलाका प्रशासन कार्यालयमा विवरण दर्ता गर्न आग्रह गरेको छ ।

‘सामाजिक सुरक्षा भत्ता नवीकरण २०८१ भदौ मसान्तसम्म गर्न सकिने भएकोले परिचयपत्रमा विवरण दर्ता गर्न छुट भएका व्यक्तिहरूले आफ्नो वडा कार्यालयसँग सम्पर्क गरी अभियानको समयमा वा आफ्नो समय अनुकूल नजिकको जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयमा विवरण दर्ता गर्नुहुन अनुरोध छ,’ विभागद्धारा जारी सूचनामा भनिएको छ ।

वालवालिका, आफ्नो हेरचाह गर्न नसक्ने, अशक्त, असहाय वा ९० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकको हकमा परिचयपत्रमा विवरण दर्ता नभए पनि सामाजिक सुरक्षा भत्ता लिन बाधा नपर्ने विभागले जनाएको छ ।

विद्यालयका सटर बन्द नगर्न काठमाडौं महानगरलाई अदालतको अन्तरिम आदेश Read Previous

विद्यालयका सटर बन्द नगर्न काठमाडौं महानगरलाई अदालतको अन्तरिम आदेश

बैतडीको देहीमाडौंमा प्रभु बैंकको ३०३ औं शाखा सञ्चालनमा Read Next

बैतडीको देहीमाडौंमा प्रभु बैंकको ३०३ औं शाखा सञ्चालनमा