नेपालबाट ४० मेगावाट बिजुली किन्ने बंगलादेशको निर्णय, प्रतियुनिट मूल्य ९.३० रुपैयाँ

काठमाडौं । बंगलादेश सरकारले नेपालबाट ४० मेगावाट बिजुली आयात गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

मंगलबार बंगलादेशका अर्थमन्त्री अब्दुल हसन मोहम्मद अलीको अध्यक्षतामा बसेको सार्वजनिक खरिदसम्बन्धी मन्त्रिमण्डलीय समिति (सीसीजीपी)को बैठकले नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्ने निर्णय गरेको हो ।

उक्त बैठकले विभिन्न १५ वटा प्रस्तावहरू पारित स्वीकृत गरेको मन्त्रिपरिषद् महाशाखाका सचिव (सन्वय तथा सुधार) मोहम्मदुल हुसेन खानले जानकारी दिएको बंगलादेशी संचारमाध्यमले उल्लेख गरेका छन् ।

पावर डिभिजनको प्रस्तावपछि नेपाल विद्युत प्राधिकरण, एनटीपीसी विद्युत व्यापार निगम लिमिटेड र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच त्रिपक्षीय सम्झौता अनुसार बीपीडीबीले नेपालबाट ५ वर्षका लागि ४० मेगावाट जलविद्युत आयात गर्ने उनले बताए ।

‘विद्युत् विभागको प्रस्तावपछि बंगलादेश पावर डेभलपमेन्ट बोर्डले नेपालबाट ४० मेगावाट बिजुली आयात गर्नेछ । एनटीपी विद्युत् व्यापार निगम, नेपाल विद्युत् प्राधिकरण र बीपीडीबी बीच त्रिपक्षीय सम्झौता पछि मात्रै विद्युत् आयात सुरू हुनेछ,’ उनले भने ।

त्रिपक्षीय सम्झौतापछि मात्रै विद्युत् आयात सुरू हुने भनिए पनि नेपाल र बंगलादेश बीच सम्झौता हुने मिति भने तय भएको छैन ।

महाशाखा सचिव खानका अनुसार बंगलादेशले नेपालबाट प्रतियुनिट ८.१७ बंगलादेशी टाका (९.३० नेपाली रुपैयाँ)मा विद्युत् खरिद हुनेछ ।

नेपालको बिजुली बंगलादेशले भारतको ग्रीड (प्रसारण लाइन) हुँदै लैजाने भएको छ । बंगलादेशले भारतलाई ग्रीड प्रयोग बापतको शुल्क तिर्नुपर्ने भए पनि मूल्य तय भइसकेको छैन ।

बिजुली आयातलाई सहज बनाउन बीपीडीबीले ६ अर्ब ५० करोड बंगलादेशी टाका (७ अर्ब ३९ करोड रुपैयाँ) को ५ वर्षे आयोजना सुरू गरेको उनले बताए ।

गत फागुनमा नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच यही वर्षायामदेखि बङ्गलादेशमा विद्युत् निर्यात सहमति भएको थियो । नेपालले ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बरमपुर–भेरामारा प्रसारण लाइनबाट विद्युत निर्यात गर्नेछ ।

प्राधिकरणले हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ तारिखसम्म वर्षायामका ६ महिनामा ४० मेगावाटसम्म विद्युत् निर्यातका लागि बङ्गलादेशसमक्ष प्रस्ताव पठाएको थियो ।

त्यसअघि भारतको प्रसारण प्रणाली प्रयोग गर्दै नेपालबाट ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्न भारतको विद्युत् आयात निर्यात निर्देशिका बमोजिम नेपाल विद्युत् प्राधिकरण, भारतको एनटीपिसी विद्युत् व्यापार निगम र बंगलादेशको पावर डेभलपमेन्ट बोर्ड बीच त्रिपक्षीय सम्झौता भएको थियो ।

यस्तै, बङ्गलादेशले ६७८ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलविद्युत आयोजना निर्माण गर्ने बताइहेको छ । उसले सन् २०४० सम्म १० हजार मेगावाट बराबरको बिजुली लैजान सैद्धान्तिक प्रतिबद्धता जनाएको छ ।

भारतले निर्माण गर्ने माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट ५०० मेगावाट बिजुली लैजान यसअघि नै बङ्गलादेश सहमत भएको थियो ।

नेप्सेमा लगातार वृद्धि, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Previous

नेप्सेमा लगातार वृद्धि, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित Read Next

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित