काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन वृद्धि भएको छ । सोमबारदेखि उकालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । ३ दिनमा नेप्से परिसूचक ४९ अंकले बढेको छ ।
बुधबार नेप्से परिसूचक ६.३७ अंकले बढेर २१२१.६२ बिन्दुमा पुगेको छ । सूचकसँगै कारोबार रकममा पनि बढोत्तरी भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३४ करोड रुपैयाँ बढेर ५ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ ।
आज ३१२ कम्पनीको १ करोड २९ लाख ५० हजार ४०७ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ को घटेको छ । फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक १.०७ प्रतिशतले बढेको छ भने हाइड्रोपावरको ०.६१ प्रतिशतले घटेको छ ।
आज पनि एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको २७ करोड ६३ लाख रुपैयाँको ३ लाख ९६ हजार १३४ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका मध्ये ११९ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको मात्र घटेको छ ।
बढ्दो बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । समृद्धि फाइनान्स, मिड सोलु हाइड्रोपावर, साधना लघुवित्त र ग्रीन लाइफ हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको छ ।
बढ्दो बजारमा आज सयपत्री हाइड्रोपावरका सेयरधनीले भने सर्वाधिक ४.४८ प्रतिशत गुमाएका छन् ।