वैशाखसम्म बैंकले कमाए झण्डै आधा खर्ब नाफा, नबिलले साढे ५ अर्ब, कुनले कति ?

काठमाडौं । चालु आर्थिक वर्षको १० महिना (साउन-वैशाख)मा वाणिज्य बैंकहरूले झण्डै आधा खर्ब नाफा कमाएका छन् ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाखसम्म २० वाणिज्य बैंकहरूले कुल ४८ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएका हुन् ।

गत आवको वैशाखको तुलनामा चालु आवको सोही महिनामा वाणिज्य बैंकहरूको खुद नाफा १४.९७ प्रतिशतले घटेको छ । गत वर्ष वैशाखसम्म वाणिज्य बैंकहरूले कुल ५७ अर्ब १६ करोड रुपैयाँ नाफा कमाएका थिए ।

चालु आवको वैशाख महिनामा मात्रै वाणिज्य बैंकहरूले ७ अर्ब ९२ करोड रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । वैशाखमा बैंकहरूले औसतभन्दा धेरै नाफा कमाएका छन् । बैंकहरूले चालु आवमा औसतमा मासिक ४ अर्ब ८६ करोड रुपैयाँ नाफा कमाएका छन् ।

अर्थतन्त्रमा आएको संकुचनका कारण कर्जाको माग बढ्न नसक्दा यस वर्ष बैंकहरूले लक्ष्य अनुसार नयाँ कर्जा विस्तार गर्न सकेका छैनन् । अहिले बैंकहरूलाई विगतमा गरिएको कर्जाको ब्याजले नै भरथेग गरिरहेको छ । राष्ट्र बैंकका अनुसार चालु आवको वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल २ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

पछिल्लो समय कर्जाको ब्याजदर सस्तिए पनि बजारमा उपभोग्य वस्तुको माग बढ्न र उद्यमीको मनोवल बढ्न नसक्दा कर्जाको माग बढ्न सकेको छैन । जसकारण बैंकहरूले उल्लेख्य रुपमा व्यवसाय विस्तार गर्न सकेका छैनन् ।

राष्ट्र बैंकले चालु आवमा निजीक्षेत्रतर्फ ११.५ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको छ । सो अनुसार वर्ष दिनमा ५ खर्ब ६० अर्ब बढी कर्जा लगानी हुनुपर्छ । तर, १० महिनामा लक्ष्यको ४३ प्रतिशत मात्र कर्जा विस्तार भएको छ ।

यस्तै, आर्थिक मन्दीका कारण व्यवसायीको ऋण तिर्ने क्षमतामा ह्रास आउँदा पनि नाफा प्रभावित भएको बैंकरहरू बताउँछन् । समयमै कर्जा असुली नहुँदा खराब कर्जा बढ्न जाँदा बैंकहरूको प्रोभिजनिङ दायित्व बढेको छ ।

पछिल्लो समय सरकार र राष्ट्र बैंकले गरेका नीतिगत लचकताले अर्थतन्त्र केही चलायमान हुन थालेको संकेत देखिएको छ । घट्दो ब्याजदर र आर्थिक गतिविधि बढ्न थालेकाले आगामी महिनाहरूमा भने कर्जाको माग बढ्ने बैंकहरूको अपेक्षा ।

कुन बैंकले कति कमाए ?

वैशाखसम्म नबिल बैंकले सर्वाधिक ५ अर्ब ४६ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नबिललाई पछ्याएको ग्लोबले यस अवधिमा ४ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । नबिलले ग्लोबलकोभन्दा १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको हो ।

त्यस्तै, वैशाखसम्म नेपाल इन्भेष्टमेन्ट मेगा र प्राइम कमर्शियलले ३ अर्ब बढी नाफा कमाएका छन् । इन्भेष्टमेन्टले ३ अर्ब ७७ करोड र प्राइमले ३ अर्ब २२ करोड नाफा कमाएको छ ।

त्यस्तै, वैशाखसम्म ५ बैंकले साढे २ अर्ब बढी नाफा कमाएका छन् । जसमा एभ्रेष्टले २ अर्ब ९८ करोड, कृषि विकासले २ अर्ब ६९ करोड, स्ट्याण्डर्ड चार्टर्डले २ अर्ब ६६ करोड, राष्ट्रिय वाणिज्यले २ अर्ब ५६ करोड र प्रभुले २ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको छ ।

वैशाखसम्म एनएमबीले २ अर्ब ४८ करोड, हिमालयन २ अर्ब २२ करोड र एनआइसीले २ अर्ब १६ करोड नाफा कमाएको छ ।

यस अवधिमा ७ बैंकले १ अर्बदेखि २ अर्बभन्दा कम नाफा कमाएका छन् । सिद्धार्थले १ अर्ब ९७ करोड, लक्ष्मी सनराइजले १ अर्ब ९५ करोड, सानिमा १ अर्ब ७४ करोड, सिटिजन्स १ अर्ब ५० करोड, कुमारी १ अर्ब ४३ करोड, नेपाल एसबीआइ १ अर्ब ४२ करोड, माछापुच्छ्रे १ अर्ब १० करोड रुपैयाँ नाफा कमाएको छ ।

वैशाखसम्म सरकारी स्वामित्वको नेपाल बैंकले सबैभन्दा कम ५९ करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ ।

काठमाडौंमा मनसुन भित्रन अझै केही दिन लाग्ने, तापक्रम ३४ डिग्री पुग्ने Read Previous

काठमाडौंमा मनसुन भित्रन अझै केही दिन लाग्ने, तापक्रम ३४ डिग्री पुग्ने

पहिरोमा पुरिएर अरुण तेस्रो जलविद्युत्का एक मजदुरको मृत्यु, दुई घाइते Read Next

पहिरोमा पुरिएर अरुण तेस्रो जलविद्युत्का एक मजदुरको मृत्यु, दुई घाइते