काठमाडौं । कोशी प्रदेशमा निक्षेपभन्दा धेरै कर्जा लगानी भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनले यस्तो देखाएको हो ।
राष्ट्र बैंकका अनुसार यस प्रदेशमा संकलन गरिएको निक्षेपभन्दा कर्जा लगानी १ खर्ब ३१ अर्ब रुपैयाँ धेरै कर्जा लगानी भएको छ । बैंक तथा वित्तीय संस्थामा रहेको कूल निक्षेपको ७.१३ प्रतिशत अर्थात् रु ४ खर्ब ४१ अर्ब बराबर कोशी प्रदेशमा छ । त्यस्तै, कूल कर्जाको ११.२६ प्रतिशत अर्थात् रु ५ खर्ब ७२ अर्ब ऋण कोशी प्रदेशमा विस्तार भएको छ ।
अहिले समग्र बैंकिङ प्रणालीबाट रु ६१ खर्ब ८७ अर्ब बराबर कर्जा र ५० खर्ब ८४ अर्ब बराबर कर्जा विस्तार भएको राष्ट्र बैंकले जनाएको छ ।
कोशी प्रदेशमा ४५.१६ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको पाइएको छ ।
त्यस्तै, हाल देशभर बैंक तथा वित्तीय संस्थाको शाखा सङ्ख्या ११ हजार ५९४ वटा रहेकोमा कोशी प्रदेशमा मात्र १६.०६ प्रतिशत अर्थात् १ हजार ८६२ वटा शाखा छन् ।
यस प्रदेशमा २२ हजार १०७ जनाले सहुलियतपूर्ण कर्जा लिएका छन् । जसमा रु ३४ अर्ब दुई करोड ५२ लाख बराबर सहुलियत कर्जा स्वीकृत भएको छ । सबैभन्दा बढी महिला उद्यमशीलता कर्जा १२ हजार ८६३ जना र व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा आठ हजार ९२२ जनाले लिएका छन् ।
कूल ७ लाख ७९ हजार ५८४ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको यो प्रदेशमा ७ लाख २ हजार ४१ हेक्टर क्षेत्रफलमा मात्र खेती गरिएको छ भने कूल सिञ्चित क्षेत्रफल ३ लाख १५ हजार ८११ हेक्टर रहेको छ ।
चालु आर्थिक वर्ष २०८०र८१ मा कोशी प्रदेशको कूल गार्हस्थ्य उत्पादन रु ९ खर्ब ३ अर्ब बराबर रहने अनुमान गरिएको छ भने आर्थिक वृद्धिदर ३.५१ प्रतिशत अनुमान गरिएको छ ।
कोशी प्रदेशको प्रतिव्यक्ति कूल गार्हस्थ्य उत्पादन एक हजार तीन सय ३६ अमेरिकी डलर बराबर छ । त्यस्तै, गरिबी दर १७.१९ र बहुआयामिक गरिबी १५.९ प्रतिशत रहेको छ । मुलुकको कूल वैदेशिक व्यापारमा कोशी प्रदेशको आयातको हिस्सा १४.४४ र निर्यात हिस्सा ३९.०६ प्रतिशत बराबर छ ।