तनहुँ । मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पूर्व र पश्चिम दुई खण्डमा सडक विस्तारलाई तीव्रता दिइएको छ ।
पृथ्वीराजमार्गको पूर्वतर्फ ३३ किमी र पश्चिमतर्फ २० किमी गरी कुल ५३ किमी सडक कालोपत्र गरिसकिएको आयोजनाले जनाएको छ । पूर्वतर्फ ४१.७ किमी र पश्चिमतर्फ ३८.८८ किमी सडक विस्तार भइरहेको छ ।
आँबुखैरेनीदेखि जामुने सडक खण्डमा २७ किमी चार लेन र ६ किमी दुई लेनको सडक कालोपत्र गरिएको पूर्व खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिए । उनले भने, ‘पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी, डुम्रे, व्यास, चापाघाट, म्याग्दे र जामुनेलगायतका स्थानमा कालोपत्र गरिएको छ ।’
पूर्व खण्डमा ७० प्रतिशत बढी कार्य प्रगति भइसकेको उनले जानकारी दिए । विसं २०८१ वैशाख २ गते सम्झौता म्याद सकिएपछि पुनः १५५ दिन म्याद थप गरी निर्माणलाई निरन्तरता दिइएको हो ।
कोभिड(१९ का बेला काम प्रभावित भएकाले म्याद थप गरिएको इन्जिनियर पाण्डेले बताए। त्यसैगरी पश्चिम खण्डमा २६ प्रतिशत कार्य प्रगति भइसकेको छ । दुई लेनको २० किमी सडक कालोपत्र गरिएको छ ।
सम्झौता अनुसार विसं २०८१ भदौ ११ सम्म काम सम्पन्न गरिसक्नुपर्नेछ । उनका अनुसार यस सडकखण्डमा वर्षायाम अगावै नालासहित एकतर्फी सडक ग्राभेल गर्ने लक्ष्य राखिएको छ ।