काठमाडौं महानगरले भेटेन आर्किटेक्ट इञ्जिनियर, मागभन्दा थोरै आवेदन

काठमाडौं । काठमाडौं महानगरपालिकाको श्रम बैङ्कमा करिब ५ हजारको आवेदन परे पनि आर्किटेक्ट इञ्जिनियरको भने आवश्यक सङ्ख्या नपुगेको जनाएको छ ।

कामपाले गत भदौमा सीप भएका बेरोजगार जनशक्तिलाई श्रम बैङ्कमा आवद्ध हुन माग गरेको सूचनाअनुसार अहिलेसम्म ४ हजार ७७० जनाको आवेदन परेको कामपा श्रम बैङ्कका ‘फोकल पर्सन’ पवनकुमार ठाकुरले जानकारी दिए । उनका अनुसार आर्किटेक्ट इञ्जिनियरको सङ्ख्या अत्यन्तै कम रहेको छ ।

फोकल पर्सन ठाकुरका अनुसार अहिलेसम्म आर्किटेक्ट इञ्जिनियर थोरैको सङ्ख्यामा आएकामा आएकामध्ये अधिकांश काममा लागिसकेका छन् । ‘कामपालाई आर्किटेक्ट इञ्जिनियर तत्कालका लागि १७ जना आवश्यक छ । त्यसका लागि कामपाले पुनः सार्वजनिक सूचना निकालेको छ,’ उनले भने, ‘अन्य कामदारहरु मागभन्दा धेरै आउनुभएको छ भने आर्किटेक्ट इञ्जिनियर अत्यन्त न्यून सङ्ख्यामा आउनुभएको छ ।’

कामपाले आर्थिक वर्ष २०८०र८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैङ्क सञ्चालन गर्ने नीति लिएको थियो । सोही अनुसार महानगरले आवेदन माग गरेको थियो । ‘यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मतसम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउनेलगायत क्षेत्रमा काम गर्ने जनशक्तिको सूचीकरण हुनेछ,’ फोकल पर्सन ठाकुरले भने ।

श्रम बैङ्कमा आएकामध्येबाट अहिले ६०० छनोट गरी काममा खटाइएको छ । आवश्यकता र मागअनुसार अन्यलाई पनि काममा खटाउने तयारी गरिरहेको कामपाले जनाएको छ । आवेदन दिनेमध्ये सबैभन्दा धेरै सरसफाइको क्षेत्रमा काम गर्ने जनशक्ति रहेको कामपाले जनाएको छ ।

‘बेरोजगारका लागि एउटा आधार तयार गरिदिने उद्देश्यले श्रम बैङ्कमा श्रमिकलाई आवद्ध गराइएको हो,’ फोकल पर्सन ठाकुरले भने, ‘कामपाले तयार गरेको श्रम बैङ्कमा श्रमिकको नाम हुन्छ । जहाँ श्रमिकको ज्यालादर, कामको प्रकार, सम्पर्क नम्बर र श्रमिकको ठेगानालगायत विवरण उल्लेख गरिएको हुन्छ ।’

सोही विवरणका आधारमा आवश्यकता परेमा जनशक्ति उपलब्ध गराउन सकिने व्यवस्था छ । चालु आर्थिक वर्षका लागि काम गर्न इच्छुक व्यक्तिले आफूले आवेदनमा काम गर्न चाहेको कामको विवरण, आफूले काम गरेको भए अनुभवको क्षेत्रलगायत विवरण भर्नुपर्नेछ । आवेदन फाराममा विभिन्न ६४ प्रकारका काम उल्लेख गरिएका छन् । फाराम आफू बसेको वडामा अथवा कामपाको रोजगार सेवा केन्द्रमा बुझाउनुपर्ने छ । श्रम बैङ्कमा आवद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि काठमाडौँमा बसोबास भएको हुनुपर्नेछ ।

प्रभु बैंकका ग्राहकले सौराहाका १६ होटल तथा रेष्टुरेन्टमा छुट पाउने Read Previous

प्रभु बैंकका ग्राहकले सौराहाका १६ होटल तथा रेष्टुरेन्टमा छुट पाउने

वैशाखमा मात्रै झण्डै साढे २ अर्ब रकमान्तर, कुन आयोजनामा कति ? Read Next

वैशाखमा मात्रै झण्डै साढे २ अर्ब रकमान्तर, कुन आयोजनामा कति ?