काठमाडौं । एक आयोजनामा खर्च हुन नसकेको बजेट अर्को आयोजनामा रकमान्तर गर्ने क्रम बढेको छ । अर्थ मन्त्रालयका अनुसार पछिल्लो एक महिना (वैशाख)मा मात्रै २ अर्ब ४० करोड रुपैयाँ रकमान्तर गरिएको हो ।
बजेटको एउटा शीर्षकबाट अर्को शीर्षकमा पैसा पठाएर खर्च गर्ने काम रकमान्तर हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी ऐनमा रकमान्तर, स्रोतान्तर र थप निकासाबाट खर्च गर्न पाउने व्यवस्था राखिएको छ ।
मन्त्रालयका अनुसार वैशख महिनामा ३० वटा आयोजनालाई २ अर्ब ४० करोड रुपैयाँ रकमान्तर गरिएको छ । मन्त्रालयले वैशाखमा १ करोड रुपैयाँभन्दा बढी रकम एउटा आयोजनाबाट अर्कोमा सारेको हो ।
सरकारले विकास मन्त्रालयहरू भौतिक पूर्वाधार, ऊर्जा, सिँचाइ लगायत मन्त्रालयको एउटा आयोजनामा खर्च नभएको बजेट अर्कोमा रकमान्तर गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले जल तथा मौसम विभागलाई ३ करोड ४० लाख, नदी नियन्त्रण १४ करोड १७ लाख, वृहत् सिँचाइ योजना २ करोड, बबई सिँचाइ आयोजना ८ करोड ५० लाख, महाकाली सिँचाई आयोजना ७ करोड १ लाख, सिक्टा सिँचाइ आयोजना ७ करोड ८५ लाख, रानी जमरा कुलरिया सिँचाइ आयोजनामा १ करोड ५२ लाख रुपैयाँ रकमान्तरण गरेको छ ।
त्यस्तै, मन्त्रालयले महाकाली करिडोर ( झुलाघाट–दार्चुला–टिंकर सडक)लाई ५ करोड, रणनीतिक सडक पुल निर्माण तथा पुल पुलेस संरक्षणमा २४ करोड ६० लाख, राजमार्ग स्तरोन्नती तथा पुनस्थापना कार्यक्रमका लागि १ करोड ८० लाख, साँघुटार–ओखलढुंगा–कुइभीर सडकलाई १ करोड ४ लाख, निर्वाचन क्षेत्र रणानैतिक सडक आयोजनालाई २ करोड २२ लाख, जंगी अड्डालाई ३ करोड ८४ लाख थप बजेट उपलब्ध गराएको छ ।