राजनेता छान्ने रियालिटी शोमा प्रतिस्पर्धाको आधार के ? रूपरङ्ग, वक्तृत्वकला वा हावादारी योजना

विभिन्न प्रकारका ‘रियालिटी शो’ वर्तमान ‘हाइपर रियल’ विश्वका दुखान्त तस्वीर हुन् । यस्ता शोहरूले या त कृतिम नायक, सेलिब्रिटी उत्पादन गर्छन् कि त क्षमताको पहिचान वा कदर गर्ने गलत तरिकालाई सहीजस्तो बनाएर दर्शक वा आम मानिसलाई दिग्भ्रमित बनाउँछन् ।

 

नारायण गोपाल, मेहदी हसन वा जोन लेनन टिभी शोमा प्रतिस्पर्धा गरेर स्थापित भएका थिएनन् (भलै कतिपय आजका गायक रियालिटी शोबाटै स्थापित भएका किन नहुन्) । मानिस वास्तविक रूपमा सफल हुने वा प्रतिभाको कदर हुने रियालिटी शोमा सफल भएर मात्र पनि होइन ।

 

सम्भवतः रियालिटी शोलाई मानिसहरूले केवल मनोरञ्जनमात्र भनेर बुझे त समस्या हुन्थेन होला ।

 

तर, यस्ता शो र तिनमा हुने प्रतिस्पर्धालाई आम मानिसले आफ्नो वास्तविक जीवनसँग जोडेर हेर्छन् । कतिले यस्ता शोमा सफल हुन दुःखद र निरर्थक प्रयत्न गर्छन् त यसमा पहुँच नहुने धेरैले आफूलाई असफल मूल्यांकन गर्छन् ।

 

रिआलीटी शोले देखाउन खोजेजस्तो जीवन कठोर र अन्त्यहीन प्रतिस्पर्धा होइन । हामी बाँच्ने धेरैभन्दा धेरैको प्रशंसा पाउनमात्र होइन । सामान्य स्तरको ज्ञान, सामान्य क्षमता, सामान्य सीप, सीमित शुभेच्छुक भएर बाँच्नु पनि नराम्रो होइन । यसमा गर्व गर्न सक्नु ठूलो कुरा हो ।

 

गीतसंगीत, पाककला, अन्य विभिन्न प्रकारका सीप वा ‘सेलिब्रिटी स्टेटस’मा आधारित रियालिटी शोहरू आजभोलि बग्रेल्ती छन् । तिनमा मानिसको रुचि छ । टेलिभिजनको व्यापार तिनमा टिकेको छ । यो अब आश्चर्यको कुरा होइन ।तर, राजनीतिक नेतृत्व चयन गर्न बनाउन लागिएको रियालिटी शो भने यी सबैभन्दा पृथक प्रकृतिको पागलपन हो । यो पागलपनको कुनै विधि वा पद्धति छैन ।

 

यो सबै कुरा मैले लेखिरहेको ‘द लिडर’ भन्ने नयाँ रियालिटी शो आउन लागेको समाचारका सन्दर्भमा हो ।

 

गीतसंगीत, पाककला, अन्य विभिन्न प्रकारका सीप वा ‘सेलिब्रिटी स्टेटस’मा आधारित रियालिटी शोहरू आजभोलि बग्रेल्ती छन् । तिनमा मानिसको रुचि छ । टेलिभिजनको व्यापार तिनमा टिकेको छ । यो अब आश्चर्यको कुरा होइन ।

 

तर, राजनीतिक नेतृत्व चयन गर्न बनाउन लागिएको रियालिटी शो भने यी सबैभन्दा पृथक प्रकृतिको पागलपन हो । यो पागलपनको कुनै विधि वा पद्धति छैन ।

 

वक्तृत्वकला, रूप, विशिष्ट विषयगत ज्ञान आदि कुरा वर्तमान युगमा नेतृत्वका लागि सहयोगी होलान् । यद्यपि राजनीतिक नेतृत्व यी सबैभन्दा उच्च र वृहत् कुरा हो । असल नेतृत्वका लागि यी कुनै कुरा नभए पनि फरक पर्दैन । यी सबै गुण हुनेहरू अक्सर नेतृत्वमा असफल हुने गर्छन् ।

 

राजनीतिक नेतृत्व विकास गर्नका लागि एउटा व्यक्तिले समाजसँग गहिरो र अर्थपूर्ण अन्तक्रिया गर्नुपर्छ । आम मानिसको व्यक्तिगत जीवनसँग आफूलाई एकाकार गरेको हुनुपर्छ । रूपान्तरणका लागि आवश्यक गहन र यथार्थपरक दृष्टिकोण बोकेको हुनुपर्छ ।

 

राजनीतिक नेतृत्व छान्ने रियालिटी शोले केलाई प्रतिस्पर्धाको आधार बनाउला त ?! रूपरङ्ग, वक्तृत्वकला ? हावादारी योजना ?! प्रश्नहरू अनेक छन् ।

 

तिनै प्रश्नमध्येका थप प्रश्न के भने ‘जज’का रूपमा चर्चामा आएका बाबुराम भट्टराई र रवीन्द्र मिश्र, जो स्वयं नेतृत्वमा शानदाररूपमा असफल छन्, उनीहरूले अरूको नेतृत्व क्षमता कसरी मूल्याङ्कन गर्लान् !

 

यो रियालिटी शोमा भाग लिन प्रतिश्पर्धीका रूपमा आउनेहरू के उद्देश्य बोकेर आउलान् ?  सिमेन्ट कम्पनीले घोषणा गरेको उपहार पाउने ?सेलेब्रिटी बन्ने ? राजनीति गर्ने  ?!

 

‘द लिडर’ नाम दिइएको रियालिटी शोले राजनीतिक नेतृत्वका बारेमा आम मानिस र विशेषगरी टेलिभिजनका दर्शकलाई कसरी प्रशिक्षित गर्ला ? नेता बन्ने, छानिने, नेतृत्वमा सफल हुने टेलिभिजन शोमा भाग लिएर, आफ्नो वक्तृत्वकला प्रदर्शीत गरेर ? बाबुराम वा अन्य कुनै प्रशस्त समय र उल्लेख्य काम नभएका तर व्यावसायिक रूपमा आफूलाई नेता मान्ने मानिसको सल्लाह, सुझाव मानेर ?!

 

अब बिट मार्न तिर लागौँ  रियालिटी शोले केही प्रतिभाहरूलाई अवसर दिएको छ । यद्यपी समग्रतामा रियालिटी शोले प्रतिभा र सफलताबारे आम मानिसका बुझाइलाई विकृत बनाएका छन् । मेरो विचारमा राजनीतिक नेता छान्ने रियालिटी शो यी सबैभन्दा पत्रु प्रकारको विकृति हो ।

 

अन्त्यमा एउटा उदाहरण प्रस्तुत गर्न चाहान्छु- युक्रेनका वर्तमान राष्ट्रपती भोलोडिमायर जेलेन्स्की टेलिभिजनमा रियालिटी शो र कमेडीका कार्यक्रम चलाउँथे । उनले धेरैपटक आफ्ना टेलीभिजन शोहरूमा राष्ट्रपतीको अभिनय गरे र प्रशंसा बटुले ।

 

गत २०१९ मे महिनाको आम चुनावमा भने साँच्चै राष्ट्रपतीको उमेदवार पनि भए । आम मानिसले के सोचे भने- असल राष्ट्रपतीको यस्तो राम्रो अभिनय गर्ने मानिसले कसो देश राम्रो नचलाउला त ! जेलेन्स्कीले चुनाव पनि जिते । तर, उनको कार्यकाल र युक्रेन अहिले नराम्रो सङ्कटमा फसेको छ ।

 

म खुशी यो कुरामा छु कि म आफू रियालिटी शो हेर्दिनँ र घरमा मेरा छोराछोरीलाई यस्ता शो हेर्न हामी अनुमति दिँदैनौ ।

-संजीव पोखरेलको ब्लगबाट

चीनद्वारा अमेरिकी वस्तुमा लगाइएकाे करवृद्धि योजना स्थगित, व्यापार युद्ध समाधान हुने संकेत Read Previous

चीनद्वारा अमेरिकी वस्तुमा लगाइएकाे करवृद्धि योजना स्थगित, व्यापार युद्ध समाधान हुने संकेत

सेयर बजारमा ६१ अंकको वृद्धिपछि ५ अंकको करेक्शन Read Next

सेयर बजारमा ६१ अंकको वृद्धिपछि ५ अंकको करेक्शन