विद्युत् प्राधिकरणले ९ महिनामा बेच्यो ६९ अर्बको बिजुली, कमायाे ११ अर्ब नाफा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को ९ महिनामा ११ अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको चालु आवको चैत महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, चैतसम्म ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको हो ।

प्राधिकरणले यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल रु ९३ अर्ब ९४ करोड आम्दानी गरेको छ ।

प्राधिकरणले सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम सार्वजनिक गरेको विवरणअनुसार विद्युत् खरिद, प्रशासनिक, आयोजनामा लगानीलगायतमा जम्मा रु ८२ अर्ब ८८ करोड खर्च भएको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिद तथा आयोजनामा हुने गरेको छ ।

प्राधिकरणले यसअवधिमा रु ११ अर्ब छ करोड नाफा (करकट्टी गर्नुअघि अपरिष्कृत) आर्जन गरेको हो । गत आर्थिक वर्ष २०७९÷८० को सोही अवाधिमा प्राधिकरणको नाफा रु ८ अर्ब ८८ करोड थियो । गत आवको मुनाफा रु १३ अर्ब ३७ करोड थियो ।

प्राधिकरणको सञ्जित मुनाफा रु ३३ अर्ब ६४ करोड पुगेको छ । आव २०७२/७३ मा रु आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुबाट निरन्तर नाफामा छ । विद्युत् चुहावट नियन्त्रण, आन्तरिकरुपमा तथा भारतर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रणलगायतले गर्दा चालु आवको ९ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताए ।

प्राधिकरणले चालु आवको ९ महिनामा विद्युत् बिक्रीबाट रु ६८ अर्ब ८९ करोड खुद सङ्कलन गरेको छ । यस अवधिमा देशभित्रका निजी क्षेत्रका ऊर्जा उत्पादकबाट र आफ्ना सहायक तथा सम्बद्ध कम्पनीबाट विद्युत् खरिदका रु ३८ अर्ब २० करोड भुक्तानी गरिएको छ ।

यसअवधिमा हिउँदयामको माग धान्न रु ११ अर्ब ५५ करोडको विद्युत् भारतबाट आयात गरिएको छ । आन्तरिक रुपमा खपत गरी बढी भएको रु १३ अर्ब ४२ करोड बराबरको विद्युत् भारततर्फ निर्यात गरिएको प्राधिकरणले जनाएको छ ।

आफ्नो स्रोतबाट झण्डै १८ अर्ब खर्च

प्राधिकरणले आफूले कमाएको नाफाबाट चालु आवको चैत महिनासम्ममा रु १७ अर्ब ८२ करोड विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाको लगानी गरेको छ । यसअवधिमा सरकारले विभिन्न आयोजना र ग्रामीण विद्युतीकरणका लागि प्राधिकरणलाई रु एक अर्ब ६३ करोड ऋण दिएको छ ।

सरकारले दिएको ऋण र आफ्नो स्रोतबाट यस अवधिमा रु १९ अर्ब ४५ करोड विकास बजेट खर्च भएको छ । यसअवधिमा वैदेशिक सहायतातर्फबाट रु १४ अर्ब ४३ करोड खर्च भएको छ ।

सरकारको बजेट सीमितताका कारण सरकारबाट लगानीका लागि पर्याप्त रकम पाउन सकिरहेका छैनौँ, यस्तो जटिल अवस्थामा संस्थाले कमाएको नाफाबाट विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरण, विद्युतीकरणतर्फका आयोजनामा प्राधिकरणले हरेक वर्ष अर्बौं रुपैयाँ लगानी गरिरहेको छ ।

एनएमबी बैंक ‘ग्रीन बैंक अफ दी इयर २०२४’ अवार्डबाट सम्मानित Read Previous

एनएमबी बैंक ‘ग्रीन बैंक अफ दी इयर २०२४’ अवार्डबाट सम्मानित

पर्यटन क्षेत्रको अनावश्कय भ्याट र कर हटाइने छ : पर्यटनमन्त्री तामाङ Read Next

पर्यटन क्षेत्रको अनावश्कय भ्याट र कर हटाइने छ : पर्यटनमन्त्री तामाङ