एफसी चितवनद्वारा फुटबल खेलका आयमबारे अन्तर्क्रिया आयोजना

भरतपुर । फुटबल क्लब एफसी चितवनले नेपालमा फुटबल खेलका विभिन्न आयम बारे सरोकारवालाहरू बीच अन्तर्क्रिया गराएको छ ।

क्लबले भरतपुर मेयर कप फुटबल प्रतियोगिताको अवसरमा नेपाली फुटबलमा युवा प्रतिभालाई हुर्काउने र दिगो भविष्यको निर्माणको पहलका बारेमा भरतपुरमा छलफल आयोजना गरेको हो।

अन्तर्क्रियामा ५०० भन्दा बढी खेलाडी, विद्यार्थी र नेपाली फुटबलका सरोकारवाला सहभागी थिए।

छलफलमा फुटबल खेल तथा खेलाडीको विकासमा स्थानीय निकाय, सङ्घसंस्थाहरू, निजी संस्था र खेलाडीहरूको भूमिकाबारे विभिन्न दृष्टिकोणहरू प्रस्तुत भएका थिए ।

साथै, विभिन्न सरोकारवालाहरू बीच समन्वय, लगानीमैत्री वातावरण सिर्जना, लिग प्रणालीलाई पुनर्संरचना र नीति निर्माणमा खेलाडीहरूको आवाजलाई समावेश गर्ने जस्ता महत्त्वपूर्ण विषयहरू पनि छलफलमा उठेका थिए।

अन्तरक्रिया सँगसँगै खेलकुद विज्ञान, पोषण, शारीरिक तन्दुरुस्ती, खेलकुद मनोविज्ञान र चोटपटक रोकथाम जस्ता आवश्यक विषयहरूमा समेत विज्ञद्वारा प्रस्तुति गरिएको थियो ।

आधुनिक उपकरणहरू तथा प्रस्तुतिबाट विद्यार्थी खेलाडीहरू उत्साहित भएका थिए । यसलाई अबका प्रशिक्षण र विकासमा जोड्नु पर्ने खेलाडीहरूको भनाइ थियो ।

अन्तर्क्रियामा अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कज विक्रम नेम्बाङ, एफसी चितवनका अध्यक्ष सचिन ढकाल र खेलाडी सङ्घका अध्यक्ष विक्रम लामाको सहभागिता रहेको थियो ।

यो अन्तर्क्रियासँगै एफसी चितवनले आफ्ना साझेदारहरूसँग मिलेर स्थानीय तहबाटै फुटबलको रूपान्तरणको यात्रालाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

 

नेपालले विश्वकमा बनाउने प्रत्येक रन बराबर ओमोडाले रुख रोप्ने Read Previous

नेपालले विश्वकमा बनाउने प्रत्येक रन बराबर ओमोडाले रुख रोप्ने

त्रिवेणी मोटोकर्पले बेच्ने ईभी किन्न ग्लोबल आइएमईले सहजै ऋण दिने Read Next

त्रिवेणी मोटोकर्पले बेच्ने ईभी किन्न ग्लोबल आइएमईले सहजै ऋण दिने