कच्चा तेलको मूल्यमा उच्च गिरावट, नेपाललाई राहत

काठमाडौं । विश्व बजारमा कच्चा तेलको मूल्यमा उच्च गिरावट आएको छ । तेल उत्पादक देशहरूले उत्पादन कटौती अवधि अझै डेढ वर्ष लम्ब्याउने घोषणाको बाबजुत मूल्यमा भारी गिरावट आएको हो ।

पछिल्लो एक सातामा कच्चा तेलको मूल्य औसत ८ प्रतिशतले घटेको छ । आयल प्राइस डटकमका अनुसार जेठ १५ गते प्रतिब्यारेल ८३.९४ अमेरिकी डलर रहेको ब्रेन्ट क्रुड आयको भाउ आज ७७.५१ डलरमा झरेको छ । ८ दिनमै ब्रेन्ट क्रुडको भाउ ६.४४ डलर अर्थात् ७.६२ प्रतिशतले घटेको छ ।

त्यस्तै, डब्ल्यूटीई क्रुड आयको भाउ ७९.८३ डलरबाट घटेर ७३.२० डलरमा आएको छ । एकसातामा मुर्बान क्रुड आयको भाउ प्रतिब्यारेल ८५.३ डलरबाट ७८.०३ डलरमा झरेको छ ।

विश्व बजारमा तेलको खपत नघटे पनि अमेरिकामा आपूर्ति बढ्दा मूल्यमा गिरावट आएको हो । अमेरिकामा पेट्रोलियम मौज्दात बढ्दा त्यसले समग्र विश्व बजारमा प्रभाव पारेको आयल प्राइसले जनाएको छ ।

अमेरिकी ऊर्जा विभागको तथ्यांक अनुसार अमेरिकामा हाल मौज्दात तेलको परिमाण ३४ करोड ब्यारेल पुगेको छ ।

विश्व बजारमा कच्चा तेलको मूल्य घट्दा नेपाललाई राहत पुग्नेछ । नेपाल पेट्रोलियम पद्धार्थमा पूर्ण परनिर्भर रहेको छ । विश्व बजारमा तेलको भाउ बढ्दा नेपालमा पनि बढ्ने र घट्दा घट्ने गर्छ ।

नेपालले सिधै अन्तर्राष्ट्रिय बजारबाट नभई भारतबाट तेल खरिद गर्ने गरेको छ । परिवर्तन भएको मूल्यअनुसार भारतीय आयल निगमले हरेक १५/१५ दिनमा नेपाललाई तेलको नयाँ मूल्य सूची पठाउने गरेको छ ।

ललितपुरको दुई स्थानमा अपाङ्गतामैत्री आकाशे पुल निर्माण हुँदै Read Previous

ललितपुरको दुई स्थानमा अपाङ्गतामैत्री आकाशे पुल निर्माण हुँदै

चितवनका किसानले ८ महिनादेखि पाएनन् दूधको भुक्तानी, ७० करोड बक्यौता Read Next

चितवनका किसानले ८ महिनादेखि पाएनन् दूधको भुक्तानी, ७० करोड बक्यौता